काठमाडौं– सरकारले उच्च सार्वजनिक पदमा बसेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा आयोग बनाउने निर्णय गरेसँगै राजनीतिक र प्रशासनिक वृत्तमा चर्चा बढेको छ ।
२०६२र६३ देखि हालसम्म सार्वजनिक पद सम्हालेका प्रमुख राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने उद्देश्य राखिएको भए पनि आयोगको कार्यादेश अझै तय भएको छैन ।
वर्तमान मन्त्रिपरिषद् पनि छानबिनको दायरामा पर्ने संकेत सरकारले दिएको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले ६२र६३ यताका सबै उच्च राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन हुने बताएका छन् ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री र बहालवाला मन्त्रीहरू पनि छानबिनमा पर्नेछन् ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित अन्य पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिमाथि पनि आयोगले अध्ययन गर्नेछ ।
साथै, पूर्वमन्त्री, राजदूत र उच्चपदस्थ कर्मचारीहरू समेत दायरामा पर्ने सम्भावना छ ।
दिवंगत व्यक्तिहरूको हकमा भने परिवारको सम्पत्ति छानबिन गर्ने अभ्यास अपनाउन सकिने देखिन्छ ।
राष्ट्रप्रमुखहरूलाई समेट्ने–नसमेट्ने विषय पनि कार्यादेशमा निर्भर रहनेछ ।
आयोगको कार्यकाल र कार्यक्षेत्र स्पष्ट नभएकाले यसको प्रभावकारिता र निष्पक्षताबारे प्रश्न उठ्न थालेका छन् ।






















