काठमाडौं– स्थानीय तहलाई गैरदलीय बनाउने माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
२०७९ साल जेठमा दलीय आधारमा निर्वाचित भएका ३६ हजारभन्दा बढी जनप्रतिनिधिको पद खारेज गरी आगामी निर्वाचन गैरदलीय आधारमा गराउनुपर्ने मागसहित दायर रिट निवेदन अदालतले खारेज गरेको हो ।
अधिवक्ता प्रकाश अधिकारीले एक वर्षअघि दायर गरेको उक्त रिटमाथि बुधबार संवैधानिक इजलासले अन्तिम सुनुवाइ गर्दै निवेदन खारेज गर्ने निर्णय गरेको हो ।
कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, मोजकुमार शर्मा र नहकुल सुवेदी रहेको इजलासले स्थानीय तहलाई गैरदलीय बनाउने माग अस्वीकार गरेको हो ।
रिट निवेदनमा अधिवक्ता अधिकारीले २०७२ सालको संविधानले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाको निर्वाचन दलीय आधारमा हुने स्पष्ट व्यवस्था गरे पनि स्थानीय तहको हकमा भने मौन रहेको जिकिर गरेका थिए ।
संविधानले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गर्न सकिने सम्भावना राखेको अवस्थामा जबरजस्ती दलीय आधारमा निर्वाचन गराउनु असंवैधानिक भएको उनको तर्क थियो ।






















