काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा ठूलो पराजय भोगेपछि पनि केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संस्थागत समीक्षा सुरु नगर्दा विद्या देवी भण्डारी को सक्रियता तीव्र बनेको छ ।
निर्वाचनपछि भण्डारीले ओलीलाई तीन पटक भेटिसकेकी छन्, गुन्डु निवास, महाराजगञ्जस्थित शिक्षण अस्पताल र पछिल्लो भेट शल्यक्रियाको तयारीकै बीचमा भयो ।
ती भेटहरू सहानुभूति मात्र नभई पार्टीको संकट र पुनर्गठनबारे केन्द्रित रहेको स्रोतहरूको भनाइ छ ।
भण्डारीले एमाले पुनर्गठनको प्रस्ताव अघि सारेकी छन् भने ओली त्यसमा सकारात्मक देखिएका छैनन् ।
यसैबीच उनले शीर्ष नेताहरूसँग निरन्तर संवाद र सामूहिक छलफल पनि अगाडि बढाएकी छन्, जहाँ अधिकांश नेताहरू नेतृत्व पुनर्गठनको पक्षमा देखिएको स्रोतको दाबी छ ।
निर्वाचनमा एमाले २५ सिटमा खुम्चिएपछि पार्टीभित्र असन्तुष्टि बढ्दो छ, तर औपचारिक समीक्षा अझै हुन सकेको छैन ।
ओलीको स्वास्थ्य र अन्य कारणले पार्टी अलमलमा रहेका बेला भण्डारीले पुनर्गठनको पहल तीव्र बनाएकी छन् ।






















