काठमाडौं– विपक्षी दलहरू संसदीय समितिका सभापतिको उम्मेदवारीबारे आन्तरिक छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले सबै समितिमा उम्मेदवारी दिने विषयमा परामर्श गरिरहेका छन् ।
एक नेताका अनुसार, “उम्मेदवारी दिनुपर्छ, जित–हार स्वाभाविक प्रक्रिया हो” भन्ने धारणा छलफलमा उठेको छ ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा मनोनयन दर्ता हुनेछ भने साढे ४ बजे उम्मेदवार सूची सार्वजनिक गरिने संघीय संसद सचिवालयले जनाएको छ ।
संघीय संसदअन्तर्गत १६ वटा समिति रहेका छन्, जसमा प्रतिनिधिसभाका १०, राष्ट्रिय सभाका ४ र २ संयुक्त समिति छन् ।
राष्ट्रिय सभाका समितिका सभापति भने यसअघि नै चयन भइसकेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतका १० समिति र दुई संयुक्त समितिका सभापतिका लागि शुक्रबार निर्वाचन हुने तय गरिएको छ ।
यसैबीच, कांग्रेसका मोहन आचार्य र भिष्मराज आङदाम्बे तथा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन र युवराज दुलाल विपक्षी दलहरूसँग निरन्तर संवादमा छन् ।
दिउँसो विपक्षी दलका नेताहरूको संयुक्त बैठक पनि बस्नेछ, जसले उम्मेदवारी दिने तथा भागबन्डासम्बन्धी निर्णय गर्नेछ ।






















