काठमाडौं– चिरिबाबु महर्जनले साझा यातायात अन्तर्गत सञ्चालन हुने बस सेवा पूर्ण रूपमा निःशुल्क बनाउने प्रस्ताव अघि सारेका छन्।
मंगलबार नयाँ रुट उद्घाटन कार्यक्रममा उनले सार्वजनिक यातायातलाई सेवामुखी र दिगो बनाउन यस्तो योजना आवश्यक रहेको बताए।
सुरुका तीन महिनाको खर्च साझा यातायातले व्यहोर्ने र त्यसपछि सम्बन्धित पालिकाले दामासाही आधारमा खर्च बेहोर्ने सहमति भए पनि महर्जनले महानगरले नै बजेट व्यवस्थापन गरी सेवा निःशुल्क गर्नुपर्ने धारणा राखे।
उनले खर्च विवरण उपलब्ध गराउन आग्रह गर्दै आगामी बजेटमा आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए।
साथै, सेवा निरन्तर र दिगो हुनुपर्नेमा जोड दिए।
यसैबीच, काठमाडौंमा मंगलबार साँझदेखि वाइफाईसहितको रात्रिकालीन बस सेवा सुरु भएको छ, जसले ललितपुर, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकालाई जोड्नेछ।
प्रारम्भमा ७ वटा बस सञ्चालनमा ल्याइएका छन् भने प्रत्येक बसमा ४ वटा सीसीटिभी क्यामरा जडान गरिएको छ।






















