नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीले सोधेको सात दिने स्पष्टीकरणको जवाफ नदिने संकेत गरेका छन्।
कांग्रेस केन्द्रीय अनुशासन समितिले खड्कालाई कार्यवाहक सभापतिको हैसियतमा अनाधिकृत विज्ञप्ति जारी गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। तर खड्काले “यस्ता कुरा नगरौँ, त्यतातिर नजाऔँ” भन्दै जवाफ दिन अनिच्छा व्यक्त गरेका छन्।
गत चैत ३० गते उनले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरेपछि पार्टीभित्र विवाद चर्किएको हो। यसअघि पनि उनले पार्टी नेतृत्व र केही नेताको पक्राउको विरोधमा यस्तै विज्ञप्ति निकालेका थिए।
अनुशासन समितिले यसअघि सचेत गराए पनि पुनः त्यही गतिविधि दोहोरिएको भन्दै स्पष्टीकरण सोधिएको हो। जवाफ नआए थप कारबाही अघि बढाइने समितिले जनाएको छ।
यसैबीच, विशेष महाधिवेशनपछि बनेको नयाँ कार्यसमितिलाई लिएर पार्टीभित्र विवाद कायमै छ भने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। खड्काले भने अदालतको निर्णय कुरिरहेको बताएका छन्।






















