काठमाडौं– संघीय संसदका सदस्यहरूले पुनः स्वकीय सचिवको सुविधा पाउने तयारीसँगै संसद सञ्चालन खर्च बढ्ने देखिएको छ ।
संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार प्रत्येक सांसदलाई एक–एक स्वकीय सचिव दिने प्रक्रिया अघि बढाइएको हो ।
पूर्ववर्ती सरकारले खारेज गरेको यो सुविधा फेरि लागू हुन लागेपछि राज्यको आर्थिक भार बढ्ने भएको छ ।
हाल प्रतिनिधिसभा र राष्ट्रिय सभाका पदाधिकारीबाहेक सांसदहरूले स्वकीय सचिव पाउँदैनथे ।
अब भने ३३८ सांसदका लागि शाखा अधिकृतसरहको स्वकीय सचिव व्यवस्था हुने भएको छ ।
उनीहरूलाई मासिक ४३ हजार ६८९ रुपैयाँ तलब र २ हजार रुपैयाँ महँगी भत्ता गरी प्रतिव्यक्ति ४५ हजार ६८९ रुपैयाँ दिनुपर्ने हुन्छ ।
यसअनुसार मासिक करिब १ करोड ५४ लाखभन्दा बढी र वार्षिक करिब २० करोड रुपैयाँभन्दा बढी खर्च थपिने अनुमान गरिएको छ ।
समितिका सभापतिहरूका लागि उपसचिवस्तरका स्वकीय सचिव रहने व्यवस्था पनि छ, जसको खर्च अझ बढी हुनेछ ।
संसद सचिवालयका अनुसार सांसदहरूले सिफारिस गरेका व्यक्तिको बैंक खातामा मासिक तलब जम्मा गरिनेछ, तर यो व्यवस्था हाल अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको छ ।






















