काठमाडौं– सरकारले इजरायल, बहराइन, कुवेत र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ।
खाडी क्षेत्रमा युद्ध चर्किएपछि १७ फागुनदेखि रोकिएको स्वीकृति अब वैदेशिक रोजगार विभागले पुनः सुरु गरेको हो।
यसअघि नै साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि स्वीकृति खुला भइसकेको थियो।
तर इजरायल, बहराइन, कुवेत र लेबनानका लागि भने बुधबारदेखि मात्र पुनः खुला गरिएको हो।
इराकमा भने सरकारले तोकेको कागजात पूरा गरेपछि मात्रै श्रम स्वीकृति दिइनेछ, किनभने त्यहाँ रोजगारमा जान प्रतिबन्ध कायमै छ।
यता, नयाँ श्रम स्वीकृतिको विषयमा अझै अन्योल छ। दूतावासहरूले तत्काल खुला गर्नु उपयुक्त नहुने सुझाव दिएका छन्।
साथै, हाल आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ, पहिले जस्तो टोकन प्रणाली हटाइएको छ।
यी चार देशमा इरानले आक्रमण गर्ने धम्की दिँदै आएको छ भने युद्ध विराम हुनुभन्दा पहिले आक्रमण गरेको थियो।






















