images
images
  • कांग्रेसले सोध्यो पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण

    काठमाडौं– नेपाली कांग्रेसले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अनुशासन उल्लंघन गरेको आरोपमा ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

    बुधबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले खड्काले पार्टी विधानविपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    समितिका अनुसार खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी आफूले आधिकारिक जिम्मेवारीमा रहेको जस्तो देखिने गरी अनधिकृत प्रेस विज्ञप्ति जारी गरेका थिए ।

    उनले २०८२ चैत १४ गते पनि यस्तै प्रकृतिको विज्ञप्ति जारी गरेको भन्दै त्यसअघि २०८२ चैत १८ गते समितिले उनलाई एक पटकका लागि सचेत गराएको थियो ।

    तर सचेत गराइए पनि उनले पुनः २०८२ चैत ३० गते नक्कली लेटरप्याड प्रयोग गरी आफू पदमै रहेको दाबीसहित अर्को विज्ञप्ति जारी गरेको समितिको ठहर छ ।

    यसलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) अनुसार अनुशासन उल्लंघन मानिएको छ ।

    समितिले उनलाई यस विषयमा ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएको छ ।

    यसैबीच, अनुशासन समितिले प्रतिनिधि सभा निर्वाचन २०८२ सम्बन्धी उजुरीका विषयमा पनि निर्णय गर्दै उजुरी दिने म्याद थप गरेको छ ।

    यसअघि चैत मसान्तसम्म रहेको समयसीमा बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्‍याइएको छ । त्यसपछि प्राप्त हुने उजुरीमाथि भने कुनै कारबाही अघि नबढाइने समितिले स्पष्ट पारेको छ ।

    समितिले निर्वाचनका क्रममा पार्टीभित्र अनुशासन उल्लंघन, अन्तर्घात तथा अराजक गतिविधि गरेको आरोपमा परेका उजुरीहरूमा छानबिन प्रक्रिया सक्रिय बनाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images