काठमाडौं– नेपालका लागि पोकोको आधिकारिक वितरक टेलिटकले बहुप्रतीक्षित ‘पोको एक्स–८ सिरिज’ अन्तर्गत दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ— पोको एक्स–८ प्रो ५जी र पोको एक्स–८ प्रो म्याक्स ५जी।
पोको एक्स–८ प्रो ५जी मा फ्ल्यागसिप डाइमेनसिटी ८५००–अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ, जसले उच्च प्रदर्शनका साथै ऊर्जा दक्षता पनि सुनिश्चित गर्छ। यसमा ६५००mAh क्षमताको ब्याट्री, १००W हाइपरचार्ज र २७W रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। फोटोग्राफीका लागि ५०MP मुख्य क्यामेरा, ८MP अल्ट्रा–वाइड र २०MP फ्रन्ट क्यामेरा जडान गरिएको छ। ६.५९ इन्चको १.५के रेजोलुसनसहितको १२०Hz AMOLED डिस्प्लेले स्मूथ र ब्राइट भिजुअल अनुभव दिन्छ। साथै, IP68 रेटिङका कारण फोन पानी र धुलो प्रतिरोधी छ।
त्यसैगरी, पोको एक्स–८ प्रो म्याक्स ५जी मा अझ शक्तिशाली डाइमेनसिटी ९५००एस चिपसेट समावेश गरिएको छ। यसमा ८५००mAh क्षमताको ब्याट्री, १००W हाइपरचार्ज र २७W रिभर्स चार्जिङ सुविधा दिइएको छ, जसले कम्पनीका अनुसार दुई दिनसम्म ब्याट्री टिकाउन सक्छ। ६.८३ इन्चको १२०Hz AMOLED डिस्प्ले, ५०MP मुख्य क्यामेरा, ८MP अल्ट्रा–वाइड र २०MP फ्रन्ट क्यामेराले प्रिमियम अनुभव प्रदान गर्छ। साथै, IP68 रेटिङसहितको डिजाइनले पानी, धुलो, स्प्ल्याश र हल्का झट्काबाट सुरक्षा दिन्छ।
टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानका अनुसार यो सिरिज केवल गेमिङका लागि मात्र नभई समग्र उत्कृष्टता खोज्ने प्रयोगकर्तालाई लक्षित गरेर डिजाइन गरिएको हो। उनका अनुसार यसमा फ्ल्यागसिप स्तरको प्रोसेसिङ, आकर्षक डिस्प्ले, टिकाउ डिजाइन र एआई–आधारित क्यामेरा विशेषता छन्।
मूल्यतर्फ, पोको एक्स–८ प्रो ५जी को ८GB+२५६GB भेरियन्टको मूल्य रु. ६३,९९९ र १२GB+५१२GB को मूल्य रु. ७३,९९९ तोकिएको छ। यो कालो, हरियो र सेतो रङमा उपलब्ध हुनेछ।
त्यस्तै, पोको एक्स–८ प्रो म्याक्स ५जी को १२GB+२५६GB भेरियन्टको मूल्य रु. ७९,९९९ र १२GB+५१२GB को मूल्य रु. ८९,९९९ निर्धारण गरिएको छ। यो निलो, कालो र सेतो रङमा उपलब्ध हुनेछ।
कम्पनीले ग्राहकहरूका लागि ९ महिनासम्मको EMI सुविधा र १ वर्षको वारेन्टी उपलब्ध गराएको छ। यी स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरुम, देशभरका मोबाइल पसल तथा दराजमार्फत खरिद गर्न सकिनेछ।




















