काठमाडौं– पूर्णबहादुर खड्का विरुद्ध समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा नेपाली कांग्रेस कारबाहीको तयारीमा लागेको छ ।
‘कावा सभापति’को हैसियतमा दोस्रोपटक वक्तव्य जारी गरेपछि विवाद चर्किएको हो ।
आज दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ भने त्यसअघि ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।
यसअघि रमेश लेखक पक्राउविरुद्ध खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी विज्ञप्ति निकालेपछि अनुशासन समितिले सचेत गराएको थियो ।
चैत १८ को बैठकले पुनः यस्ता गतिविधि भए विधानअनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।
अनुशासन समितिका संयोजक तारामान गुरुङले पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही हुने स्पष्ट पारेका छन् ।
यसैबीच सभापति गगनकुमार थापाले पनि अनधिकृत गतिविधि सहन नसकिने चेतावनी दिएका छन् ।
खड्काले भने आफू अझै चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको कार्यवाहक सभापति रहेको दाबी गर्दै आएका छन् ।






















