images
images
  • चार दशकदेखिको मल कारखाना सपना : जहिल्यै आउँछ कुरा, कहिल्यै भएन पूरा

    काठमाडौं- सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    मंगलबार सार्वजनिक १८ बुँदे राष्ट्रिय प्रतिबद्धताको बुँदा नम्बर २ मा भनिएको छ, ‘निजी क्षेत्रसँगको सहकार्यमा रासायनिक मल कारखाना स्थापना गरी सञ्चालनका लागि विद्युत् आपूर्तिको विशेष व्यवस्था गरिनेछ ।’

    सरकारले सार्वजनिक गरेको यस्तो प्रतिबद्धताको आधार हो– चुनावी वाचा ।

    २१ फागुनको निर्वाचनमा सहभागी सबैजसो पार्टीले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने वाचा गरेका थिए ।

    प्रतिनिधिसभामा ६ वटा दलले मात्रै चुनावबाट राष्ट्रिय दलको मान्यता पाएको छ ।

    राजनीतिक दलहरूको चुनावी वाचालाई समेटेर सरकारले राष्ट्रिय प्रतिबद्धतापत्र ल्याएको हो । जसमा कृषि र कृषकका विषयलाई प्राथमिकता दिएर दोस्रो बुँदामै समेटिएको छ ।

    जसअन्तर्गत रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता पनि समेटिएको छ ।

    राजनीतिक नेतृत्वले नेपालमा मल कारखाना खोल्ने सपना बाँड्न थालेको पञ्चायतदेखि हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारले नै बजेटमा मल कारखाना खोल्ने योजना समेट्न थाल्यो ।

    तर, यो सपना पूरा भएको छैन । किसानले हरेक वर्ष मलअभाव भोगिरहेका छन् । पाएको मलमा पनि कालोबजारी हुने गरेको छ ।

    २०४० सालमा जापानिज इन्टरनेसनल कर्पोरेसन एजेन्सीले नेपालमा रासायनिक मल कारखानाको स्थापनाबारे सम्भाव्यता अध्ययन गरेको थियो ।

    उक्त अध्ययनले हावा, पानी र नाइट्रोजनको सम्मिश्रणबाट मल उत्पादन गर्न सम्भव रहेको प्रतिवेदन दिएको थियो ।

    कारखाना चलाउन आवश्यक कोइला र प्राकृतिक ग्यासको उत्पादन भने नेपालमा छैन । अध्ययनअनुसार विद्युत्मार्फत कारखाना सञ्चालन गर्न ३ सय ८० मेगावाटको छुट्टै प्लान्ट र १ खर्ब ४२ अर्बको लगानी चाहिन्छ ।

    कोइलाको सहयोगमा कारखाना चलाउन १ खर्ब र ग्यासको सहयोगमा ६ सय किलोमिटर ग्यास पाइपलाइन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।

    मल कारखाना स्थापनाबारे प्राविधिक र आर्थिक हिसाबले सम्भव छ कि छैन भनेर अध्ययन नै भएपछि नेपालमा यसले अझ महत्व पाउन थालेको हो ।

    यसकै निरन्तरतामा यसपटक फेरि वाचा दोहोरिएको छ । निजी क्षेत्रसँगको सहकार्यमा रासायनिक मल कारखाना स्थापना गरी सञ्चालनको लागि विद्युत् आपूर्तिको विशेष व्यवस्था गर्ने सरकारको प्रतिबद्धता छ ।

    नेपालकै अध्ययनले भन्छ- सम्भव छ
    नेपालमा रासायनिक मल स्थापना गर्न सम्भव रहेको नेपालको आफ्नै आन्तरिक अध्ययन पनि छ ।

    २०७३/७४को बजेट वक्तव्यमा सरकारले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने विषयलाई समेटेको थियो ।

    त्यसपछि लगानी बोर्डले ०७३/७४मा भारतको डेभलपमेन्ट कर्पोरेसन अफ कर्नाटकमार्फत कारखाना खोल्न दुईपटक अध्ययन गरेको थियो ।

    बोर्डले गरेको अध्ययनअनुसार रासायनिक मल कारखाना स्थापना गरेपछि कारखानाको पुँजीगत खर्च क्षमता वार्षिक ७० अर्ब हुनुपर्ने उल्लेख छ ।

    कारखानाको निर्माण लागत खर्च ७२ अर्बदेखि १ खर्ब ४२ अर्ब हुनुपर्ने भनिएको छ । यसरी निर्माण हुने कारखानाबाट मल उत्पादन गर्न ऊर्जाको रूपमा विद्युत् प्रयोग गर्दा प्रतिकिलो लागत खर्च ४८ रुपैयाँ ८० पैसा लाग्ने उल्लेख छ ।

    ऊर्जाको रूपमा कोइला प्रयोग गर्दा प्रतिकिलो लागत खर्च ४० रुपैयाँ ५० लाग्ने भनिएको छ ।

    तर, यो अध्ययनअनुसार नीति बनेर कार्यान्वयनमा आउन सकेको छैन । राजनीतिक दलहरूले मल कारखाना खोल्ने वाचा गर्न भने छाडेका छैनन् ।

    नेपाली कांग्रेसले कृषि आधुनिकीकरण र आत्मनिर्भरता जोड्दै मल आपूर्ति सुधार गर्ने र स्वदेशमै उत्पादनको सम्भावना अध्ययन गर्ने वाचा गर्दै आएको छ ।

    तर व्यवहारमा कांग्रेस नेतृत्वमा सरकार बन्दा पनि ठोस कदम चालिएन ।

    नेकपा एमालेले औद्योगीकरण र आत्मनिर्भरता नारासँगै मल कारखाना स्थापना गर्ने प्रतिबद्धता गर्दै आएको छ । एमाले नेतृत्वको सरकारले पनि यसबारे विगतमा ठोस निर्णय र लगानी सुनिश्चित गरेन ।

    नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) ले पनि किसान–केन्द्रित कृषि नीति भन्दै आएको छ ।

    मल आपूर्ति सहज बनाउने र उत्पादनमा जोड दिने उसको वाचा छुटेको छैन ।

    तर, यो पार्टीले सरकारको नेतृत्व गरेको समयमा पनि मल कारखाना खोल्ने ठोस कदम चालिएन ।

    २०७९ सालमा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मल कारखानाको सपना बाँडेको छ । झन्डै दुईतिहाइ बहुमतसहितको सरकार छ । यसले फेरि मल काराखानाको सपना बाँडेको हो ।

    यो सपना पूरा गर्न मल कारखाना स्थापना गर्न अर्बौं रुपैयाँ लगानी आवश्यक पर्छ ।

    यस्तो ठुलो परियोजनामा राजनीतिक इच्छाशक्ति र स्थायित्व दुवै आवश्यक हुन्छ । यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने भनेको छ ।

    विगतमा पूरा हुन नसकेको सपना पूरा गर्ने वाचा गरेको रास्वपाले ‘नीति र वाचा होइन कार्यान्वयन’ भन्ने नाारा दिएको छ ।

    यो नाराअनुसार काम भए मल कारखाना बनाउने कुरा सपना होइन सम्भव हुनेछ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images