काठमाडौं- नयाँ मन्त्रीहरूका लागि सरकारी क्वार्टर अपुग भएपछि सहरी विकास मन्त्रालयले भाडाका घर खोज्न थालेको छ ।
क्वार्टर अपुग भएपछि सात मन्त्री आफ्नै तरिकाले बसेका छन् ।
उनीहरूका लागि मन्त्रालयले भाडाका घर खोज्न थालेको हो ।
भैँसेपाटीको क्वार्टर पुनर्निर्माण नहुँदासम्म मन्त्रालयले सरकारी भवन तथा निजी भवनमा क्वार्टरको व्यवस्था गर्नेछ ।
अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, सञ्चारमन्त्री विक्रम तिमिल्सिना, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला तथा बालबालिकामन्त्री सीता बादी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव, कृषिमन्त्री गीता चौधरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव आ-आफ्नै तरिकाले बसेका छन् ।
उनीहरूका लागि मन्त्रालयले क्वार्टर खोज्न थालेको हो ।
निवासको आफैँ व्यवस्थापन गरेका मन्त्रीहरूले क्वार्टर व्यवस्थापन गरिदिन अनुरोध गरेपछि मन्त्रालयले भाडाकै घरमा भए पनि राख्ने तयारी गरेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले बताए ।
‘अहिले ६ जना मन्त्रीज्यू मात्रै सरकारी क्वार्टरमा हुनुहुन्छ, एकजना सर्ने तयारीमा हुनुहुन्छ । अन्य मन्त्रीज्यूहरू आ-आफ्नै तरिकाले बस्नुभएको छ, उहाँहरूलाई भाडाको घर खोजिरहेका छौँ,’ कण्ठले भने ।
हाल भैँसेपाटीस्थित क्वार्टरमा भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल छन् ।
त्यस्तै, पुल्चोकस्थित ६ वटा क्वार्टरमा गृहमन्त्री सुधन गुरुङ, शिक्षामन्त्री सस्मित पोखरेल, कानुनीमन्त्री सोविता गौतम, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र स्वास्थ्यमन्त्री निशा मेहता बसेका छन् ।
त्यस्तै, पर्यटनमन्त्री खडकराज पौडेललाई पनि पुल्चोकमा सार्ने तयारी गरिएको छ ।
हाल त्यहाँ सर्वोच्चका १३ जना न्यायाधीश बस्छन् ।
तर, यहाँ अन्य मन्त्रीका लागि ठाउँ खाली छैन ।
जेन-जी आन्दोलनका क्रममा भैँसेपाटीस्थित २७ वटा ब्लक भएको सुविधासम्पन्न मन्त्री क्वार्टर तोडफोड भएको थियो ।
क्षतिग्रस्त नभएको रक्षामन्त्री बसेको भैँसेपाटीस्थित क्वार्टरमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री छन् ।
तर, अन्य मन्त्री राख्ने क्षतिग्रस्त संरचनाको पुनर्निर्माण बाँकी छ ।
मन्त्रालयले क्षति पुगेका २६ वटा ब्लकमध्ये ११ वटाको पुनर्निर्माण थालेको छ । अन्य बाँकी रहेका १५ वटाको पुनर्निर्माण गर्न बाँकी छ ।
यी सबै ब्लक पुनर्निर्माण तथा मर्मत गर्नका लागि ६५ करोडभन्दा बढी खर्च हुने सहरी विकास मन्त्रालयको अनुमान छ ।
पुनर्निर्माण गर्न बाँकी रहेका ब्लकको पुनर्निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिएको छ ।
भैँसेपाटीस्थित क्षतिग्रस्त मन्त्री क्वार्टर आउँदो असारसम्म पुनर्निर्माण गरिसक्ने सहरी विकास मन्त्रालयको योजना छ ।
त्यहाँ सबै ब्लक तयार भएपछि सबै मन्त्रीलाई त्यहीँ बसोबासको व्यवस्था मिलाइनेछ । –पत्रपत्रिकाबाट






















