images
images
  • मौसम पूर्वानुमान : यी क्षेत्रमा वर्षा र हिमपात हुने

    काठमाडौं- नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना बढेको हो।

    अहिले विशेष गरी हिमाली क्षेत्रमा बादल लागेको छ भने पहाडी भेगमा आंशिक बदलीको अवस्था छ।

    तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

    कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

    आज दिनभर कोशी प्रदेशको पहाडी भेग र देशका अन्य हिमाली क्षेत्रमा बादल लाग्ने देखिन्छ।

    बाँकी पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ।

    तराईमा भने घाम लाग्ने र मौसम सफा रहने प्रक्षेपण गरिएको छ।

    महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

    साथै गण्डकी प्रदेशको पहाडी भूभाग र अन्य हिमाली क्षेत्रका एक/दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ।

    मौसममा आएको यो परिवर्तनले पहाडी तथा हिमाली जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images