काठमाडौं– संघीय सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार धेरै मन्त्रीहरूको लगानी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमा देखिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सानिमा मिडल तमोर हाइड्रोमा ७१,०९३ कित्ता, सांग्रिला विकास बैंकको प्रमोटर शेयर २५,७६२ कित्ता, नेशनल फण्ड म्यानेजमेन्टमा ९० लाख, ठुलो खोला जलविद्युतमा ६० लाख र अपर मादी जलविद्युतमा ३ करोड रुपैयाँ बराबरको लगानी रहेको विवरणमा उल्लेख छ। उनले यो लगानी वैदेशिक रोजगारी र निजी सम्पत्ति बिक्रीबाट गरेको बताएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालको पिक एण्ड ड्रपमा ३३%, रिग्पा इन्टरनेशनलमा १००% र ताजा एग्रो फार्ममा १६% शेयर स्वामित्व रहेको छ। साथै, विभिन्न बैंक तथा कम्पनीहरूमा पनि उनको र परिवारका सदस्यहरूको नाममा ठूलो परिमाणमा शेयर रहेको देखिएको छ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठसँग करिब १ करोड ४५ लाख रुपैयाँ बराबरको २०,९७८ कित्ता शेयर रहेको छ भने गृहमन्त्री सुदन गुरुङसँग २ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर लगानी रहेको विवरणमा उल्लेख छ।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवसँग ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको शेयर लगानी देखिएको छ।
कृषि मन्त्री गीता चौधरीसँग २ लाख ५० हजार रुपैयाँ बराबरको शेयर छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग पनि केही कम्पनीमा लगानी रहेको विवरणमा उल्लेख छ।
त्यसैगरी, केही मन्त्रीहरू प्रधानमन्त्री बालेन शाहसहित कानुन, शिक्षा, सञ्चार, श्रम तथा पूर्वाधार मन्त्रीहरूले भने शेयर बजारमा लगानी नगरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।


विश्व खबर 




















