काठमाडौं– सर्वोच्च अदालतले सहकारी क्षेत्रमा देखिएको वर्तमान संकटलाई ‘प्रणालीगत विफलता’ ठहर गर्दै समाधानका लागि व्यापक निर्देशनात्मक आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले सहकारी पीडितको बचत फिर्ता सुनिश्चित गर्न दोषी पदाधिकारी र ऋण अपचलनकर्ताको सम्पत्ति जफत गरी ‘सहकारी पीडित राहत कोष’ स्थापना गर्न आदेश दिएको छ ।
उक्त कोषबाट पीडितमध्ये एकल महिला, ज्येष्ठ नागरिक, दलित र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने व्यवस्था गर्न भनिएको छ ।
अदालतले सहकारीहरूलाई बैंकसरह मान्न नमिल्ने ठहर गर्दै दर्ता खारेजीको माग अस्वीकार गरे पनि नियमन कमजोर रहेको स्वीकार गरेको छ ।
पारदर्शिता अभाव, अव्यवस्थित ऋण प्रवाह र बचत बीमाको कमीलाई संरचनागत समस्या औंल्याउँदै कडा सुधार आवश्यक रहेको जनाएको छ ।
सर्वोच्चले ८ बुँदे निर्देशनमार्फत समस्याग्रस्त सहकारीको डिजिटल सूची, शंकास्पद व्यक्तिको सम्पत्ति रोक्का, विशेष लेखापरीक्षण, राहत कोष स्थापना, स्पष्ट नियमन, अनलाइन वित्तीय प्रणाली, शासन सुधार, स्वतन्त्र छानबिन आयोग गठन, कानुनी सहायता र ऐन संशोधनलगायत उपाय अघि सारेको छ ।
अदालतले सहकारीलाई बैंक नबनाए पनि बैंकसरह सुरक्षित नियमनमा ल्याउनुपर्नेमा जोड दिँदै पीडितको बचत सुरक्षा राज्यको संवैधानिक दायित्व भएको स्पष्ट गरेको छ ।






















