images
images
  • प्रलोभनमा पारेर महिलाको सम्पत्ति जफत गर्ने उमेश सापकोटा पक्राउ परे

    काठमाडौं- महिलालाई अतिरिक्त प्रलोभनमा पारेर उनीहरूकै सम्पत्ति जफत गर्ने उमेश सापकोटा पक्राउ परेका छन् ।

    दाङकी एक महिलाको जाहेरीमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका-२ घर भई अहिले काभ्रेकै धुलिखेल नगरपालिका ५ श्रीखण्डपुर महाकाली टोली बस्ने ४० वर्षीय उमेश सापकोटालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज पक्राउ गरेको हो ।

    उनीविरुद्ध जबरजस्ती करणको उजुरी पनि छ ।

    दाङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-९ पँलासेबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ पठाइएको जनाएको छ ।

    प्रहरी अनुसन्धानबाट उनले सम्बन्ध विच्छेद भएका महिलाहरू खोज्ने, सहयोग गर्छु भनि ल्याएर साथी बनाइ विश्वासमा पारी ललाइ-फकाइ गरी उनीहरूको नाममा भएको अचल सम्पत्ति बैंकमा धितो राख्न लगाइ पैसा निकाल्न लगाउने गरेको खुलेको छ ।

    त्यस्तै आफूलाई जग्गासम्बन्धी कारोबार गर्ने व्यापारी बताइ आफूसँग नजिक भएका महिलाहरूको चल-अचल सम्पत्तिको फाइदा लिने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

    उनले आफूसँग नजिकिएका महिलाहरूलाई विश्वासमा पारी लोभ-लालच देखाइ सम्बन्धको गलत फाइदा उठाउने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images