images
images
  • लन्डनमा आमासँग भेट्ने सपना, पाटनमै सधैंका लागि टुट्यो

    काठमाडौं- ललितपुरको पाटन मन्दिर अगाडि हिजो साँझ भएको एक दर्दनाक घटनाले फेरि एकपटक हाम्रो समाजको असहिष्णुता र आवेगको खतरनाक रूप उजागर गरेको छ।

    एउटा सामान्य ‘गलत नम्बर’ बाट सुरु भएको विवादले दुई युवाको ज्यान लियो । जसले जीवनका सपना बोकेर विदेश उड्ने तयारी गरिरहेका थिए।

    इमाडोलका सुमित र सिर्जन नेम्वाङका लागि त्यो साँझ सामान्य हुनुपर्ने थियो। उनीहरू लन्डनमा रहेकी आमासँग भेट्न जाने योजनामा थिए।

    जीवनको नयाँ अध्याय सुरु गर्ने तयारीमा रहेका दाजुभाइलाई सायद कल्पना पनि थिएन, एक फोन कलले सबै कुरा अन्त्य गरिदिनेछ।

    घटना सुरु हुन्छ एउटा सामान्य गल्तीबाट गलत नम्बर डायल। फोन सञ्जीव नेपालीको मोबाइलमा पुग्छ।

    अपरिचित नम्बर, अपरिचित आवाज, र केही क्षणमै चर्किएको भनाभन। आजको डिजिटल समाजमा फोनमा हुने यस्तो सामान्य विवाद प्रायः केही मिनेटमै समाप्त हुन्छ।

    तर यहाँ त्यस्तो भएन।

    फोनमै तातिएको विवादले अहंकार र आक्रोशको रूप लियो। ‘पाटन आउ’ भन्ने चुनौती दिइयो। दाजुभाइ गए, लड्न होइन, माफी माग्न। तर, त्यही विनम्रता उनीहरूको अन्तिम यात्रा बन्यो।

    एक प्रत्यक्षदर्शीका अनुसार सिर्जनले कुरा मिलाउने प्रयास गर्दै “गल्ती भयो” भन्न नपाउँदै चक्कु प्रहार भयो।

    एक्कासि भएको आक्रमणले स्थिति नियन्त्रणबाहिर गयो। भाइलाई बचाउन दौडिएका सुमित पनि त्यही हिंसाको सिकार बने।

    केही क्षणमै दुई जीवन ढले, पाटनको कृष्ण मन्दिर परिसरमम भीडबीच, निस्सहाय।

    यो घटना दुई व्यक्तिको मृत्युले हाम्रो समाजको चित्रण गर्छ, सानो विवादमा पनि हिंसात्मक प्रतिक्रिया दिने प्रवृत्ति, असहिष्णुता, र तत्काल आवेगमा निर्णयले यस्तो त्रासदी निम्त्याउँछन्।

    हत्यामा संलग्न सञ्जीव नेपाली घटना स्थलबाट भाग्ने प्रयासमा थिए।

    तर, एक महिला प्रहरीले साहस देखाउँदै उनलाई नियन्त्रणमा लिइन्। यदि त्यही साहस र संयम फोनमै देखिएको भए, के दुई ज्यान जोगिन्थे ?

    आजका दिनमा, जहाँ मोबाइल फोनले मानिसलाई नजिक ल्याएको छ, त्यही उपकरणले कहिलेकाहीँ टकरावको माध्यम पनि बनिरहेको छ।

    डिजिटल संवादमा संयम, धैर्यता र जिम्मेवारीको अभावले यस्ता घटना दोहोरिन सक्छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images