इरानले हर्मुज जलडमरु पुनः बन्द गरेपछि अमेरिका र इरानबीच भएको नाजुक युद्धविराममा दबाब परेको छ ।
तर, विश्लेषकहरूका अनुसार यसले तुरुन्तै पुनः युद्धतर्फ लैजाने सम्भावना भने कम छ ।
यद्यपि, इजरायलको भूमिका भने ‘अनिश्चित कारक’का रूपमा देखिएको छ ।
अमेरिका र इरानबीच मंगलबार दुई साताको युद्धविराम सहमति भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलमार्ग खोल्ने सर्तमा बमबारी रोक्ने बताएका थिए ।
उनले चेतावनी दिँदै भनेका थिए, ‘यदि वास्तविक सम्झौता नभएमा आक्रमण अझ ठूलो रूपमा पुनः सुरु हुनेछ ।’
केही समयका लागि जहाज आवागमन खुले पनि इरानको रिभोलुसनरी गार्डले लेबनानमा इजरायलले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै पुनः जलमार्ग बन्द गरेको जनाएको छ ।
बुधबार इजरायलले लेबनानमा हालसम्मकै ठूलो आक्रमण गरेको बताइएको छ, जसमा कम्तीमा १८२ जनाको मृत्यु भएको छ ।
यसको जवाफमा इरान समर्थित हिज्बुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ ।
इरानले यो युद्धविरामलाई क्षेत्रीय स्तरको तनाव कम गर्ने प्रयास भने पनि अमेरिका र इजरायलले यसलाई केवल द्विपक्षीय सम्झौता मात्र भएको बताएका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई चेतावनी दिँदै भनेका छन्, ‘अमेरिकाले या त युद्धविराम रोज्नुपर्छ वा इजरायलमार्फत युद्ध जारी राख्नुपर्छ ।
विश्लेषकहरूका अनुसार अमेरिका र इरान दुवै वार्तामार्फत समाधान खोज्न इच्छुक देखिन्छन् ।
तर, इजरायलको निरन्तर सैन्य गतिविधिले अवस्था जटिल बनाउन सक्छ ।
चीनले पनि तनाव कम गर्न सहयोग गर्ने र कूटनीतिक समाधानको समर्थन गर्ने जनाएको छ ।
स्थिति संवेदनशील भए पनि तत्काल ठूलो युद्ध हुने सम्भावना कम छ, तर इजरायलको भूमिकाले कुनै पनि बेला तनाव पुनः चर्किन सक्ने जोखिम कायम छ ।


विश्व खबर 




















