images
images
  • ब्रिटिस कलेजको ‘अवैध’ कार्यक्रम रद्द, सरकारी छानबिन समितिले गर्‍यो कारबाहीको सिफारिस

    काठमाडौं– थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ ले विदेशी डिग्रीको नाममा नेपाली विद्यार्थी ठगी गरेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थीहरूको उजुरीपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मंसिर अन्तिम साता छानबिन सुरु गरेको थियो।

    मन्त्रालयका उपसचिव परशुराम तिवारीको नेतृत्वमा गठित चार सदस्यीय समितिले १३ पुसमा बुझाएको प्रतिवेदनले कलेजले अवैध रूपमा सञ्चालन गरेका कार्यक्रम खारेज गर्न र अन्य कार्यक्रममाथि कारबाही गर्न सिफारिस गरेको छ।

    छानबिन समितिका अनुसार कलेजले विदेशी डिग्रीको प्रलोभन देखाउँदै विद्यार्थीलाई आर्थिक तथा मानसिक रूपमा प्रभावित पार्दै उनीहरूको भविष्यसँग खेलबाड गरेको छ। कलेजले बेलायतको लिड्स बेक्केट युनिभर्सिटीसँगको सम्बन्धनमा ‘हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट’ कोर्स सञ्चालन गर्न २०७६ साउन १० मा अनुमति पाएको थियो। तर, मन्त्रालयको स्वीकृति बिना ‘फाउन्डेसन कोर्स’ सञ्चालन गरी विद्यार्थी भर्ना गर्ने र दुबई पठाउने गरेको पाइएको छ।

    प्रतिवेदनमा उल्लेख भएअनुसार एक वर्षे फाउन्डेसन कोर्स सञ्चालन गरी विदेशमा डिप्लोमा कार्यक्रममा पठाउन मन्त्रालयबाट कुनै अनुमति दिइएको थिएन। यस कारण उक्त कोर्स खारेज गर्न सिफारिस गरिएको छ। साथै, तीन वर्षे कार्यक्रमलाई चार वर्षे बनाइ सञ्चालन गरिएको पनि पुष्टि भएको छ।

    गत ६ वर्षदेखि सञ्चालनमा रहेको फाउन्डेसन कोर्सप्रति मन्त्रालयले नियमित अनुगमन नगरेको देखिएको छ। यसबीच त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता दिन सहजीकरण गरिएको थियो। तर, बेलायतका विश्वविद्यालयबाट जारी प्रमाणपत्रमा भने उक्त कोर्स तीन वर्षे मात्र रहेको देखिएको छ।

    त्यसैगरी, कलेजले स्नातक तहलाई चार वर्षे र स्नातकोत्तर तहलाई दुई वर्षे भन्दै विद्यार्थीलाई भ्रामक सूचना दिएको पाइएको छ, जबकि मन्त्रालयले तीन वर्षे स्नातक र एक वर्षे स्नातकोत्तर कार्यक्रमलाई मात्र स्वीकृति दिएको थियो।

    कलेजले अनुमति नलिई विदेशी संस्थासँग प्रत्यक्ष सम्झौता गरी फाउन्डेसन कोर्स सञ्चालन गरेको र सोही आधारमा विद्यार्थीलाई दुबईस्थित शैक्षिक संस्थामा पठाएको खुलासा भएको छ। त्यहाँ पुगेपछि समस्या भोगेका विद्यार्थीको उजुरीपछि यो विषय बाहिर आएको हो।

    यस्तै, एउटा विश्वविद्यालयको सम्बन्धन प्राप्त कार्यक्रम अर्को कलेजमा सञ्चालन गरिएको समेत भेटिएको छ। उदाहरणका लागि, किल युनिभर्सिटीको ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ कार्यक्रम ललितपुरस्थित कलेजमा सञ्चालन हुनुपर्नेमा थापाथलीमै सञ्चालन गरिएको पाइएको छ।

    छानबिन समितिमा विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक डुलराज चिमरिया, शिक्षा मन्त्रालयका कानुन अधिकृत निकिता दाहाल र शाखा अधिकृत ईश्वरकुमार श्रेष्ठ सदस्य रहेका थिए। मन्त्रालयले समितिको सिफारिस कार्यान्वयन प्रक्रिया अघि बढाइसकेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images