images
images
  • युद्धविराम उल्लंघन : इजरायलले गर्‍यो घातक आक्रमण

    काठमाडौं– लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका–इरानबीच हालै सहमति भएको नाजुक युद्धविरामलाई गम्भीर जोखिममा पारेको भन्दै संयुक्त राष्ट्रसंघले तीव्र चिन्ता व्यक्त गरेको छ ।

    द्वन्द्व थप चर्किने संकेत देखिएपछि कूटनीतिक प्रयासहरू कमजोर बन्दै गएको मूल्यांकन गरिएको छ ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्तामार्फत जारी वक्तव्यमा लेबनानमा जारी सैन्य गतिविधिले युद्धविराम मात्र नभइ, क्षेत्रीय स्थायित्व र दीर्घकालीन शान्ति स्थापनाका प्रयासहरूलाई समेत गम्भीर चुनौती दिएको उल्लेख गरिएको छ ।

    महासचिवले सबै पक्षलाई तत्काल शत्रुता अन्त्य गरी वार्ताको बाटो रोज्न पुनः आह्वान गर्नुभएको प्रवक्ताले जनाए ।

    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भएको इजरायली आक्रमणमा कम्तीमा १८२ जनाको ज्यान गएको छ भने ८९० जना घाइते भएका छन् ।

    राजधानी बेरुत केन्द्रित यस बमबारीलाई इजरायल–हिजबुल्लाहबीचको हालको द्वन्द्व सुरु भएयताकै सबैभन्दा भीषण आक्रमण मानिएको छ ।

    क्षेत्रीय तनाव अमेरिका–इरानबीचको टकरावसँग जोडिएर थप जटिल बनेको छ ।

    इरान समर्थित समूहहरूले इजरायललाई निशाना बनाएपछि लेबनान पनि युद्धको घेरामा तानिएको हो ।

    यसैबीच, इरान र संयुक्त राज्य अमेरिका दुई साताको युद्धविराममा सहमत भए पनि इजरायलले लेबनानमा भइरहेको सैन्य कारबाही उक्त सहमतिको हिस्सा नभएको स्पष्ट पारेको छ ।

    हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ ।

    इरानको संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबाफले समेत युद्धविराममाथि प्रश्न उठाउने अभिव्यक्ति दिएको देखिएको छ ।

    संयुक्त राष्ट्रसङ्घले बढ्दो नागरिक हताहतीप्रति गहिरो दुःख व्यक्त गर्दै सर्वसाधारणमाथि भएको क्षतिको कडा निन्दा गरेको छ ।

    ‘द्वन्द्वको कुनै सैन्य समाधान छैन,’ भन्दै महासचिवले पुनः कूटनीतिक पहललाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

    यसअघि संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्क तथा अन्तर्राष्ट्रिय रेड क्रस समितिले लेबनानमा भएको व्यापक हत्या र विनाशलाई ‘भयावह’ भन्दै आलोचना गरेका थिए ।

    टर्कले इरानसँग युद्धविराम सहमति भएको केही घण्टामै यस्तो हिंसा हुनु विश्वासमाथिको गम्भीर आघात भएको टिप्पणी गरेका थिए ।

    उता, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि लेबनानलाई समेट्ने गरी व्यापक युद्धविरामको पहल गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images