images
images
  • बादलका विवादास्पद अभिब्यक्तिका कारण एमालेभित्रको विवाद उत्कर्षमा

    काठमाडौं- निर्वाचन परिणामको जिम्मेवारी र पार्टी पुनर्गठनको मुद्दामा एमालेभित्र सुरु विवाद झन् चर्किँदै जान थालेको छ ।

    निर्वाचन हारको जिम्मेवारीसहित पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी ओलीले स्वैच्छिक बहिर्गमन नलिए विशेष महाधिवेशनमा जाने इतरसमूहको गृहकार्यबिच संस्थापनपक्ष प्रतिवादमा लागेको छ ।

    शीर्ष नेताहरू नै आरोप-प्रत्यारोपमा उत्रेका छन् ।

    कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले संसद्मा दिएको ‘रास्वपाले सेना, विदेशी शक्ति र कर्मचारीतन्त्रको सहयोगमा करिब दुईतिहाइ बहुमत ल्याएको’ अभिव्यक्ति पार्टीलाइन र निर्णयअनुसार नै रहेको दोहोर्‍याएपछि विवाद तनावपूर्ण हुने अवस्था आएको हो ।

    जबकि गत शुक्रबार सचिवालय बैठकले चुनावी परिणाम स्वीकार गर्दै बादलको अभिव्यक्ति सच्याएको जनाएको थियो ।

    कास्की एमालेले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै नेता बादलले संसदीय दल नेताको हैसियतमा संसद्मा आफूले गरेको सम्बोधनले ‘पार्टीभित्र र बाहिर’ का दुश्मनहरू एक्स्पोज’ भएको भन्दै पार्टी नेताहरूमाथि नै प्रहार गरेका हुन् ।

    उनले नाम त लिएका छैनन् । तर, उपाध्यक्ष विष्णु पौडेलले उठाएको प्रश्नमा उनलाई दक्षिणपन्थीको उपमा दिँदै जवाफ दिएका छन् ।

    बुधबार बादलले संसदमा राखेको अभिव्यक्ति पार्टी लाइनविपरीत भन्दै बिहीबार उपाध्यक्ष पौडेलले खण्डन गरेका थिए ।

    जबकि बादलले अध्यक्ष केपी ओलीसँगको परामर्शमै संसद्मा सम्बोधन गरेको जनाउँदै अभिव्यक्तिमा अडिग रहेको मात्र बताएनन्, पार्टीभित्रका ‘दक्षिणपन्थीहरू’ एक्सपोज भएको सुनाए ।

    ‘पार्टीको उपाध्यक्षले सार्वजनिक रूपमा एउटा स्टेटमेन्ट जारी गर्नुभयो । उहाँले संसदमा दलको नेताबाट जुन धारणा राखियो त्यो पार्टीको मान्यताविपरीत छ, त्यसमा घोर आपत्ति छ र त्यसबारे सचिवालयको बैठक बसेर उपयुक्त निर्णय दिइनेछ भन्नुभयो,’ बादलले पोखरामा भनेका छन्, ‘यहाँ हेर्नुस्, अन्तरसंघर्षको स्थिति के छ । कोको मान्छेहरू वक्तव्यबाट उत्तेजित भए । भित्र लुकेका थिए र बाहिर देखिए । किनभने त्यो स्टेटमेन्टले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्ति एक्सपोज गरेको मात्र हो ।’

    यद्यपि, उनले पौडेलको नाम नलिई उनले लेखेको स्टाटसको खण्डन गरेका हुन् । ‘अस्ति संसद्को पहिलो बैठकमा मैले दल नेताको हैसियतमा जे कुराहरू भनेँ, त्यो कुरालाई लिएर केन्द्रीय सचिवालय बैठक बस्यो । र, केन्द्रीय सचिवालयले फेरि अर्को एउटा वक्तव्य जारी गर्‍यो,’ बादलले भने, ‘त्यो कन्फ्युजन क्लियर गर्न स्टेटमेन्ट दिएको हो । त्यसकारण त्यहाँ जे बोलियो, सदनमा जे दिइयो, त्यो पार्टीको लाइन नै हो । मैले पार्टी निर्णय दृढतापूर्वक लागू गरेको हो । त्यो वास्तवमा देश र जनताको दुश्मनलाई बोल्ड्ली प्रहार हो । लुकेका दक्षिणपन्थीहरूलाई पनि आक्रमण हो । पार्टीकै लाइनअनुसार बोल्दा बाहिर त छँदै थिए, भित्रका दुश्मनहरू पनि एक्सपोज भए ।’

    संसद्को पहिलो बैठकमा दल नेताको हैसियतमा बोल्दै थापाले भनेका थिए, ‘नेपालमा भदौ २३ र २४ गते अवैधानिक रूपमा रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भयो । फागुन २१ गते आमनिर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । चैत्र १३ गते भव्य धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो । यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेको तर्फबाट धेरैधेरै बधाई भन्न चाहन्छु । यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो रु रास्वपाको अभूतपूर्व विजयमा तथ्यहरूले के स्पष्ट गर्छ भने नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन एनजिओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो । त्यसैले ती संस्था र पात्रहरूलाई पनि एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु ।’

    त्यसलगत्तै, सामाजिक सञ्जालबाट उपाध्यक्ष पौडेलले खण्डन गर्दै दलको नेताका हैसियतले थापाले व्यक्त गरेका विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेको बताएका थिए । ‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेको दलको नेताको हैसियतले माननीय रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन् । यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा ९एमाले० को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका थिए ।

    बादलको मन्तव्यपछि एमालेभित्र खैलाबैला मच्चिएपछि भोलिपल्ट शुक्रबार सचिवालय बैठक बसेर अभिव्यक्ति सच्याएको थियो ।

    ‘संसदीय दलका नेताका अभिव्यक्तिबारे गम्भीरतापूर्वक छलफल गरेर केही अस्पष्टलाई बैठकले स्पष्ट पार्ने काम गरेको छ । उहाँको कुरा गलत थिएन, तर त्यसले केही अन्तरविरोध देखा पर्‍यो । उहाँको अभिव्यक्तिबाट जनमतलाई अलिकति नस्विकारेको जस्तो देखिएको हुनाले जनताले दिएको मतलाई हामीले सम्मान गर्छौँ भनेर कन्फ्युजन स्पष्ट पारेका छौँ,’ बैठकपछि उपमहासचिव लेखराज भट्टले भनेका थिए, ‘मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन ९ब्युरोक्रेसी० र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा बैठकले स्पष्ट पारेको छ ।’

    निर्वाचनमा धक्का खाएको एमालेभित्र संस्थापन इतरपक्षले अध्यक्ष ओलीको सम्मानजनक बहिर्गमन गराउने पहल सुरु गरेपछि विवादको पारो चढेको हो ।

    संस्थापन इतरपक्षले पार्टीलाई पुनर्जीवित गर्दै पूर्वावस्थामा फर्काउन अध्यक्षको राजीनामा र केन्द्रीय कमिटीदेखि तल्ला तहसम्मको पुनर्गठन अनिवार्य रहेको बताएको छ ।

    जबकि संस्थापन पक्षले अध्यक्ष प्रहरी हिरासतमा रहेको वेला विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको गृहकार्य गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

    ७७ वटै जिल्लामा एमालेको भेला
    पार्टी अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध आन्दोलित एमालेले बुधबार ७७ वटै जिल्लामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ ।

    आन्दोलनलाई आधारभूत तहसम्म विस्तार गरेर दबाबमूलक बनाउँदै लैजाने निर्णयअनुसार सबै जिल्लामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

    कतिपय जिल्लाका भेलाहरूमा पदाधिकारी तहका नेताहरू पनि सहभागी भएका छन् ।

    केन्द्रीय सचिवालयको १७ चैतको बैठकले २५ चैतसम्म सबै जिल्लाहरूमा आन्तरिक भेला आयोजना गरेर क्षेत्र, पालिका हुँदै वडास्तरसम्म विरोधको कार्यक्रम आयोजना गरी प्रदेश राजधानी र केन्द्रीय राजधानी काठमाडौंमा १२ वैशाखमा संगठित रूपमै दबाबमूलक प्रदर्शन आयोजना गर्ने निर्णय गरेको थियो ।

    त्यही सिलसिलामा एमालेले सबैतिर जिल्ला भेलाहरू गरेको हो ।

    एमालेले २८ चैतमा ७५३ वटै पालिकामा विरोध प्रदर्शन आयोजना गर्ने, ३ वैशाखमा सबै वडामा भेला र विरोध प्रदर्शनहरू गर्ने तथा त्यसलगत्तै ७ वैशाखमा प्रदेशस्तरीय विरोध प्रदर्शनहरू गर्ने निर्णय गरेको थियो ।

    वडा हुँदै प्रदेशसम्म विरोध कार्यक्रम आयोजना गरेपछि १२ वैशाखमा काठमाडौंमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने एमालेको घोषणा छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images