काठमाडौं- वैदेशिक रोजगारीका क्रममा ठगिएका पीडितहरूलाई उद्धार गर्ने बहानामा उल्टै रकम असुल्ने एक संस्थाका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं नामक संस्थाका अध्यक्ष बताउने ६६ वर्षीय इन्द्रलाल गोले रहेका छन् ।
काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकमा कार्यालय राखेर गोलेले वैदेशिक रोजगारीबाट पीडित भएका व्यक्तिहरूबाट उजुरी निवेदन लिने र न्याय दिलाउने भन्दै कानुन विपरीत मोटो रकम असुल्ने गरेको सूचना प्रहरीमा पुगेको थियो ।
सोही सूचनाको आधारमा २०८२ चैत २४ गते दिउँसो १ बजे प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोली संस्थाको कार्यालयमा पुगेर सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा गोलेले प्रहरी टोलीमाथि नै विभिन्न अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीलाई नै दुर्व्यवहार गर्न थालेपछि उनलाई घटनास्थलबाटै पक्राउ गरिएको हो ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–५ आदेश्वर बस्दै आएका गोलेलाई हाल अभद्र व्यवहार मुद्दामा कारबाही अगाडि बढाइएको छ ।
उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















