काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सञ्चार क्षेत्रसँगको सहकार्यले देशको आर्थिक सुधारमा महत्वपूर्ण योगदान पुगेको बताएका छन्।
पत्रकार तथा सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
ढकालले आफ्नो कार्यकाल सुरु गर्दा देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै कोभिड-१९ महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव र नीतिगत अन्योलका कारण आर्थिक गतिविधि प्रभावित भएको बताए।

‘त्यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउनु, अर्थतन्त्रलाई चलायमान बनाउनु र लगानीमैत्री वातावरण निर्माण गर्नु हाम्रो प्राथमिकता थियो,’ उनले भने।
उनका अनुसार महासंघले तीन वर्षे अवधिमा आर्थिक संकट समाधान, लगानी प्रवर्द्धन, सार्वजनिक-निजी साझेदारी सुदृढीकरण, रोजगारी सिर्जना तथा व्यवसायीहरूको मनोबल अभिवृद्धिलगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको छ।
ढकालले नीतिगत सुधारमा महासंघले सक्रिय भूमिका खेलेको दाबी गरे। राष्ट्रिय आर्थिक बहसमार्फत सरकार, राजनीतिक दल र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याइएको र त्यसकै आधारमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुन सुधारका सिफारिसहरू आएको उनले बताए।

उनले निजी क्षेत्रलाई ‘शान्ति क्षेत्र’ का रूपमा घोषणा गरिएको र सरकारबाट निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत भएको उल्लेख गर्दै यसले लगानीमैत्री वातावरण निर्माणमा सकारात्मक प्रभाव पारेको बताए।
त्यस्तै, आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको जानकारी दिँदै उनले विभिन्न मुलुकहरूसँग द्विपक्षीय लगानी संवादमार्फत नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रस्तुत गरिएको बताए।
महासंघको संस्थागत सुधारतर्फ विधान संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई थप समावेशी र पारदर्शी बनाइएको तथा महिला सहभागिता वृद्धि गरिएको उनले उल्लेख गरे।

ढकालले पत्रकारहरूको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै भने, ‘आर्थिक पत्रकारिताले तथ्यमा आधारित विश्लेषण र रचनात्मक आलोचनामार्फत नीतिगत सुधारलाई मार्गदर्शन गरेको छ।’ उनले सञ्चार क्षेत्रलाई सरकार, निजी क्षेत्र र नागरिकबीचको सेतुको रूपमा व्याख्या गरे।
कार्यक्रममा उनले महासंघ र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै देशको अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे।






















