images
images
  • उपसभामुखमा श्रम संस्कृति र राप्रपाको दावी, रास्वपाले कसलाई गर्छ सहयोग ?

    काठमाडौं- २७ चैतमा उपसभामुखको निर्वाचन हुने भएको छ ।

    तर, कुन दलबाट उपसभामुख हुन्छन् भन्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा निर्भर रहन्छ ।

    संविधान अनुसार सभामुख र उपसभामुख फरक-फरक दल र फरक-फरक लिंगको हुनुपर्छ ।

    संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ ।

    सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । उनी पुरुष हुन् । अब महिला र फरक दलबाट उपसभामुख हुनुपर्छ ।

    प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् ।

    नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद् छन् ।

    यस्तो संसदीय अंकगणितका कारण रास्वपाले जसलाई समर्थन गर्छ उही दलको उम्मेदवार उपसभामुख हुन्छन् ।

    नेताहरूका अनुसार नेकपा एमालेले उपसभामुखमा दाबी गरेको छैन । नेपाली कांग्रेस मौन रहेको छ ।

    नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले उपसभामुखमा दाबी गरेका छन् ।

    नेपाली कम्युनिस्ट पार्टीले अनौपचारिक रूपमा रास्वपासमक्ष उपसभामुखमा दाबी गरेको सन्देश पठाएको छ ।

    तर श्रम संस्कृति पार्टी र राप्रपाले औपचारिक रूपमै यो विषयमा रास्वपासँग छलफल गरेका छन् ।

    राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले यही २१ चैतमा रास्वापाका सभापति रवि लामिछानेसँग भेट गरेका थिए ।

    लामिछानेलाई भेट्न शाही लामिछानेको निवासमै पुगेका थिए ।

    २२ चैतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहसँग भेटेका थिए ।

    प्रधानमन्त्री बालेनलाई भेट्न साम्पाङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

    नेताहरूका अनुसार संवैधानिक परिषद्को उपस्थितिलाई हेरेर उपसभामुख चयन गर्नेबारे रास्वपाभित्र छलफल चलेको छ ।

    ६ सदस्यीय संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन् ।

    सदस्यहरूमा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख हुन्छन् ।

    प्रतिनिधिसभामा नेपाली कांग्रेस प्रमुख विपक्षी दलको नेता हो । कांग्रेस संसदीय दलको नेता स्वतस् संवैधानिक परिषद् सदस्य हुन्छन् ।

    सभामुखमा रास्वपाबाट डीपी अर्याल छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायाणप्रसाद दाहाल नेपाली कम्युनिस्ट पार्टीबाट निर्वाचित भएका हुन् ।

    संवैधानिक परिषद्ले प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्दछ ।

    संवैधानिक परिषद्को सिफारिस उपर संसदीय सुनुवाइ हुन्छ । संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images