काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानप्रति देखिएको अनिश्चित र उतारचढावपूर्ण नीतिले ताइवान मा सुरक्षा रणनीति र कूटनीतिक विकल्पबारे नयाँ बहस सुरु भएको छ ।
ट्रम्पको आक्रामक तर अस्थिर देखिएको विदेश नीतिका कारण ताइवानभित्र अमेरिकामाथिको निर्भरता कायम राख्ने कि चीन सँग सम्बन्ध सुधारतर्फ अघि बढ्ने भन्ने विषयमा पुनर्विचारका आवाजहरू उठ्न थालेका छन् ।
यही सन्दर्भमा ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी)की अध्यक्ष चेङ लि वुन शान्ति पहलका साथ आज बेइजिङतर्फ प्रस्थान गरेकी छन् ।
चीनले ताइवानमाथि सैनिक दबाब बढाइरहेका बेला विपक्षी नेताको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसले संयुक्त राज्य अमेरिकालाई समेत सतर्क बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दीर्घकालदेखि ताइवानले अमेरिकी सुरक्षा सहयोग र हतियारमा भर पर्दै आएको छ ।
तर, इरानप्रति ट्रम्पको बदलिँदो रणनीतिले वासिङ्टनको सुरक्षा प्रतिबद्धता कति भरपर्दो छ भन्ने प्रश्न उठ्न थालेको विश्लेषण गरिएको छ ।
केही विज्ञहरूले यस्तो अवस्थामा ताइवानले चीनसँग सम्बन्ध सुधार्दै तनाव कम गर्ने विकल्प पनि विचार गर्नुपर्ने बताएका छन् ।
तर, यो विषय ताइवानको सार्वभौमिकतासँग प्रत्यक्ष जोडिएकाले अत्यन्त संवेदनशील मानिन्छ ।
विशेषज्ञहरूका अनुसार, ताइवान अहिले ‘अमेरिकी सुरक्षा छातामुनि रहने कि चीनसँग सन्तुलित सम्बन्धतर्फ अघि बढ्ने’ भन्ने जटिल मोडमा उभिएको छ ।


विश्व खबर 




















