बुटवल– मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण कच्चा पदार्थ, पेट्रोलियम, ढुवानी र बीमा खर्च ह्वात्तै बढ्दा रुपन्देहीका उद्योगहरू ‘सटडाउन’को अवस्थामा पुगेका छन् ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीका अनुसार विशेषगरी प्लास्टिक उद्योगमा कच्चा पदार्थको मूल्य दोब्बरसम्म बढेको छ, पहिले प्रतिटन ९ सय डलर पर्ने सामग्री अहिले १५ सय डलरसम्म पुगेको छ ।
भारतीय सप्लायर्सले अर्डर लिन छाड्दा र अन्य देशबाट आयात महँगो तथा ढिलो हुँदा उद्योग सञ्चालन थप संकटमा परेको उद्योगीहरूको गुनासो छ । एक हप्ताभित्र कच्चा पदार्थ नआए धेरै उद्योग बन्द हुन सक्ने चेतावनी दिइएको छ ।
रुपन्देही–भैरहवा–बुटवल औद्योगिक करिडोरमा करिब २०–२५ अर्ब लगानीका उद्योगहरूमा ५ हजारभन्दा बढी रोजगारी प्रभावित हुने जोखिम देखिएको छ ।
उद्योगीहरूले सरकारसँग कच्चा पदार्थ आयातमा सहुलियत, ढुवानी लागत नियन्त्रण, बैंक ब्याजदरमा राहत र विद्युत् शुल्कमा छुट जस्ता तत्काल कदम चाल्न माग गरेका छन् ।


विश्व खबर 




















