काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रम तथा रोजगार मन्त्री दीपक कुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिएको विषय सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ । यसै सन्दर्भमा श्रेष्ठले आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्टिकरण दिँदै उनले बीमा बोर्डमा पुनः मनोनयनसम्बन्धी कुनै आधिकारिक पत्र आफूले नपाएको बताएकी छन् ।
यसअघि पनि बोर्डकी सदस्य रहेकी श्रेष्ठ लगातार बैठकमा अनुपस्थित भएपछि स्वतः निलम्बनमा परेकी थिइन् । निलम्बनमा परेकी व्यक्तिलाई पुनः सोही पदमा ल्याइएको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परिवारवाद र मेरिट प्रणालीमाथि प्रश्न उठाएको थियो ।
श्रेष्ठ २०८० मङ्सिर १४ गते बिमित सदस्यको तर्फबाट बोर्डमा नियुक्त भएकी थिइन् । तर, पछिल्लो समय निरन्तर बैठकमा अनुपस्थित भएपछि उनी स्वतः निलम्बनमा परेकी थिइन् ।
यसैबीच स्वास्थ्य मन्त्रीको सचिवालयले भने श्रेष्ठलाई नयाँ रूपमा नियुक्ति नभई सदस्यका रूपमा बैठकमा निरन्तरता मात्र दिइएको दाबी गरेको छ ।


विश्व खबर 



















