काठमाडौं– सरकारले भारतसहित ६ देशका लागि नियुक्त नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
फिर्ता बोलाइएका राजदूतमध्ये भारतका लागि नियुक्त डा. शङ्करप्रसाद शर्मा रहेका छन् ।
त्यसैगरी, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे र अस्ट्रेलियाका लागि चित्रलेखा यादव पनि फिर्ता बोलाइएका छन् ।
उनीहरू दुवै प्रमुख राजनीतिक दलसँग आबद्ध पूर्वसांसदसमेत हुन् ।
यस्तै, श्रीलङ्काका लागि डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ पनि फिर्ता बोलाइएका राजदूतको सूचीमा छन् ।
यी सबैलाई केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेको थियो ।
यस निर्णयसँगै हाल १७ देशमा नेपाली दूतावासहरू राजदूतविहीन बनेका छन् ।
परराष्ट्र मन्त्रालयले ती रिक्त पदहरूमा छिट्टै नयाँ नियुक्ति गर्ने तयारी भइरहेको जनाएको छ ।
फिर्ता बोलाइएका राजदूतहरूलाई कार्यभार हस्तान्तरणका लागि एक महिनाको समय दिइएको छ ।
निर्वाचनपछि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह गरे पनि उनीहरूले स्वेच्छिक राजीनामा नदिएपछि सरकार बाध्य भएर फिर्ता बोलाउने निर्णयमा पुगेको हो ।
यी सबै कांग्रेस–एमालेले नियुक्त गरेका राजदूत हुन् ।






















