images
images
  • एमाले महासचिव पोखरेलले बालेन सरकारले लिएको वैदेशिक ऋणको पारदर्शितामाथि उठाए प्रश्न

    काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले लिइरहेको वैदेशिक ऋणको पारदर्शितामाथि प्रश्न उठाएका छन् ।

    दिगो पूर्वाधार विकासका लागि ऋण लिनु नेपालको बाध्यता र आवश्यकता दुवै भएको उल्लेख गर्दै उनले वर्तमान सरकारको नियतमाथि प्रश्न गरेका हुन् ।

    महासचिव पोखरेलले विगतमा विदेशी ऋणले देश डुबायो भन्दै आलोचना गर्नेहरू नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको टिप्पणी गरे ।

    “हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसद्‍मा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन्,” उनले फेसबुकमा लेखेका छन्, “यस्तो अवस्थामा स्वाभाविक रूपमा प्रश्न उठ्छ- हिजो विरोध किन ? आज स्वीकार किन ?”

    सरकारले लिने ऋणको उपयोगिता र त्यसको प्राथमिकताका विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने पोखरेलको माग छ ।

    उनले सरकारले संसद् र जनताप्रति उत्तरदायी भएर पारदर्शी जवाफ दिनु आवश्यक रहेको बताएका छन् ।

    बिनाकुनै ठोस योजना र प्राथमिकता ऋण थप्दै जाँदा त्यसले दीर्घकालीन रूपमा मुलुकलाई पार्न सक्ने प्रभावबारे उनले सचेत गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images