images
images
  • कसले पाउँछ अस्पतालले १० प्रतिशतलाई दिने निःशुल्क सेवा ? समेटिनेछन् यी सुविधा

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउन भनेपछि अस्पतालहरूले मन्त्रालयलाई विवरण बुझाएका छन् ।

    मन्त्रालयका अनुसार, हालसम्म १०० भन्दा बढी अस्पतालहरूले विवरण बुझाएका छन् ।

    सरकारले सरकारी तथा निजी अस्पतालले विपन्न बिरामीलाई १० प्रतिशत शय्या (बेड) निःशुल्क उपलब्ध गराउनुपर्ने नियममा कडाइ गरेपछि अस्पतालहरूले विवरण पठाउन थालेका हुन् ।

    निर्देशनअनुसार हालसम्म २९ सरकारी, ७० निजी र अन्य ९ गरी कुल १०८ अस्पताल/स्वास्थ्य संस्थाले विवरण उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल नेपालमा सरकारी र निजी गरी कुल ४,६१० स्वास्थ्य संस्था सञ्चालनमा छन् ।

    १० प्रतिशत निःशुल्क सेवामा के के समावेश हुन्छ ?

    सरकारको नियमअनुसार विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अस्पतालहरूले कुल शय्याको १० प्रतिशत छुट्याउनुपर्ने व्यवस्था छ ।

    यसमा निजी र सरकारी अस्पतालहरूको विवरणमा फरक छ । निजी अस्पतालहरूले १० प्रतिशतभित्र के-के सुविधा पर्ने भन्ने प्रस्ट जानकारी नभएको भन्दै शय्या मात्र उपलब्ध गराइरहेका छन् ।

    सरकारी अस्पतालले भने उक्त शय्यामा उपचाररत बिरामीको सबै सेवा निःशुल्क हुने उल्लेख छ ।

    सरकारले ओपीडी तथा चिकित्सकको परामर्श निःशुल्क गर्न भनेको छ ।

    त्यस्तै, आवश्यक ल्याब परीक्षण, एक्स-रे र शल्यक्रियाको धरौटी शुल्क निःशुल्क गराउनु पर्नेछ ।

    त्यस्तै, आपतकालीन उपचार, आवश्यक आधारभूत औषधि, सुत्केरी सेवा ९विशेष गरी गरिब र विपन्नका लागि० भर्ना भएर उपचार गर्दा लाग्ने खर्च निःशुल्क गराउनु पर्नेछ ।

    कसले पाउँछन् १० प्रतिशत निःशुल्क सेवा ?
    यो सुविधा गरिब तथा विपन्न बिरामी, असहाय र बेवारिसे बिरामी, ज्येष्ठ नागरिक (केही अस्पतालमा), अपांगता भएका व्यक्ति तथा स्थानीय तह (वडा, पालिका) को सिफरिस भएका बिरामीले यो सुविधा लिन पाउनेछन् ।

    जसका लागि अस्पतालहरूले १० प्रतिशत निःशुल्क बेड छुट्याउनुपर्ने, निःशुल्क सेवाबारे सूचना बोर्ड राख्नुपर्ने, सेवा लिएका बिरामीको रेकर्ड राख्नुपर्छ ।

    त्यस्तै, अस्पतालहरूले सरकारलाई नियमित रिपोर्ट बुझाउनुपर्छ ।

    अस्पतालहरूले १० प्रतिशत सेवा उपलब्ध नगराए सम्बन्धित अस्पताल प्रशासन, स्थानीय पालिका वा स्वास्थ्य निकायमा उजुरी दिन सकिने व्यवस्था छ ।

    सरकारी र निजी अस्पतालहरूले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि निःशुल्क छुट्याउनुपर्ने व्यवस्था स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ (दफा ७० घ) अनुसार अनिवार्य गरिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो व्यवस्थालाई चैत २०८२ देखि कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।

    1

    2

    3

    4

    5

    6

    प्रतिक्रिया दिनुहोस्
    images
    images