images
images
  • साउदीमा ५२ नेपालीको बिचल्ली : न घर पठाउँछ, न तलब नै दिन्छ

    काठमाडौं- साउदी अरेबियाको रियादस्थित हुस्सेन बिन अली अतिफामा काम गर्दै आएका नेपालीहरूको बिचल्ली भएको छ ।

    काठमाडौंको गौशालामा रहेको नेपाल लाइफ रिक्युटमेन्ट लगायतका विभिन्न म्यानपावर कम्पनीमार्फत झन्डै दुई वर्ष अगाडि साउदी पुगेका उनीहरू समस्यामा परेका हुन् ।

    विगत लामो समयदेखि कम्पनीले तलब तथा खान बस्न समेत नदिने गरेको भन्दै उनीहरूले उद्धारको माग गरेका छन् ।

    दुई वर्षे श्रम सम्झौता गरेर बिल्डिङ कन्स्ट्रक्सनको कामका लागि साउदी गएका ५० भन्दा बढी नेपालीहरूले बिचल्ली भएको भन्दै उद्धारको माग गरेका हुन् ।

    ५० डिग्रीको धापमा काम गर्नुपरिरहेको तर, ठेकेदारले उल्टै तलब नदिने, काम नदिने, खाना, खाजा तथा पानी समेत नदिने गरेको उनीहरूको भनाइ छ ।

    कम्पनीले ५र६ महिनादेखि तलब नदिएको, खाना बस्न तथा पानी समेत नदिएको श्रमिकले बताएका छन् । पीडितहरूले नेपालको म्यानपावर र साउदीको ठेकेदार कम्पनीले बिचल्ली बनाएको बताएका हुन् ।

    एक पीडितका अनुसार कम्पनीले विगत ५र६ महिनादेखि तलब दिएको छैन, खाना, बस्न दिएको छैन । कसैको तीन महिनाको तलब बाँकी राखेको छ, कसैको ४ महिना, कसैको त ६ महिनाको तलब बाँकी छ । कम्पनीलाई धेरै पटक ताकेता गर्दा पनि दिन्छु दिन्छु भन्छ तर दिँदैन । काम गराउँछ, पैसा दिँदैन ।

    कम्पनीले एक महिना काम गराउने, अर्को महिना काममा नआउ भन्ने र बिदामा बसेपछि उल्टै तलब काट्ने गरेको पीडितले बताए ।

    कम्पनीले फ्री भिसामा ल्याएको बताउने गरेको तर, आफूहरू २ लाख भन्दा बढी पैसा तिरेर गएको उनीहरूले बताए ।

    उनीहरूलाई नेपालबाट जाँदा म्यानपावर तथा एजेन्टले दैनिक १० घण्टा काम हुने, त्यसमा ९ घण्टा काम र १ घण्टा आराम हुने भनिएको थियो ।

    तर, काम भएको दिन १० घण्टा नै खटिने गरेको बताउँछन् । ओभरटाइम गरेको एक पैसा पनि नदिने गरेको उनीहरूको भनाइ छ ।

    आफूहरूको समस्याबारे कम्पनीलाई भन्दा कुनै प्रवाह नगरेको बताउँदै नेपालमा रहेको म्यानपावर, स्थानीय एजेन्ट तथा दूतावाससँग समेत गुनासो राख्दा केही नभएको बताए ।

    कतैबाट सुनुवाइ भएर समस्याको समाधान नभएपछि पीडितहरूले भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका छन् ।

    तर, भिडियो बनाएर हालेपछि कम्पनीले झन दबाब दिन थालेको छ ।

    पछिल्लो १५ दिनदेखि काममा समेत नलगाइएको उनीहरूले बताए । अहिले घर पठाइदिन आग्रह गर्दा पनि २ वर्ष कटाउनैपर्ने भन्दै धम्की दिने गरिएको पीडित बताउँछन् ।

    ऋण निकालेर घर परिवार छाडेर दुई चार पैसा कमाउको लागि आएको, तर काम पनि नदिने र तलब समेत नदिने गरेको छ । काम, तलब तथा सेवा सुविधा खोज्दा उल्टै धम्की तथा कारबाही गरेको पीडितहरुको गुनासो छ ।

    कम्पनीले बीमा गरिदिन्छु भने पनि अहिलेसम्म नभएको छैन ।बिरामी हुँदा उपचार समेत नगर्ने गरेको पीडितहरुको गुनासो छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images