सियोल– दक्षिण कोरियाले यस वर्षको सुरुमा उत्तर कोरियातर्फ पठाइएका ड्रोनसम्बन्धी विवादमा पहिलोपटक स्पष्ट स्वीकारोक्ति गर्दै प्योङयाङप्रति खेद व्यक्त गरेको छ ।
राष्ट्रपति ली जे म्युङले सोमबार उक्त घटनालाई ‘गैरजिम्मेवारपूर्ण’ र ‘लापरवाह’ कदमका रूपमा वर्णन गर्दै यसले अनावश्यक सैन्य तनाव बढाएको बताए ।
सुरुमा सियोलले जनवरीमा भएको ड्रोन घटनामा आफ्नो कुनै आधिकारिक संलग्नता नरहेको दाबी गरेको थियो र यसलाई निजी व्यक्तिको कार्य हुन सक्ने संकेत दिएको थियो ।
तर, पछिल्लो अनुसन्धानले सरकारी निकायसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता पुष्टि गरेको राष्ट्रपति लीले मन्त्रिपरिषद् बैठकमा जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय गुप्तचर सेवाका एक अधिकारी र एक सक्रिय सैनिक यस घटनामा संलग्न रहेको प्रमाणित भएको छ ।
उक्त घटनापछि उत्तर कोरियाले कडा प्रतिक्रिया जनाउँदै फेब्रुअरीमा यस्ता ड्रोन फेरि आफ्नो क्षेत्रमा प्रवेश गरे ‘भयानक परिणाम’ आउने चेतावनी दिएको थियो ।
प्योङयाङले जनवरीको सुरुमै ‘निगरानी उपकरण’ बोकेको ड्रोन खसालेको दाबी गर्दै त्यसका भग्नावशेषका तस्बिरहरू सार्वजनिक गरेको थियो, जसमा क्यामेरा जडान भएको देखिएको थियो ।
राष्ट्रपति लीले केही व्यक्तिको लापरवाह निर्णयका कारण उत्पन्न तनावप्रति उत्तर कोरियासँग खेद प्रकट गर्दै यस्ता गतिविधि अत्यन्त सावधानीपूर्वक मात्रै सञ्चालन हुनुपर्ने बताए ।
उनले दक्षिण कोरियाको संविधानले निजी व्यक्तिलाई उत्तर कोरियालाई उक्साउन सक्ने कार्य गर्न निषेध गरेको स्मरण गराउँदै राष्ट्रिय सुरक्षासम्बन्धी कुनै पनि कदम जिम्मेवार ढंगले चालिनुपर्ने धारणा राखे ।
गत वर्षदेखि पद सम्हालेका लीले उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् ।


विश्व खबर 




















