images
images
  • साढे १४ खर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह जम्मा ९.५ प्रतिशतले मात्र बढेको थियो ।

    २०८२ फागुन महिनामा मात्रै १८८ अर्ब ६४ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ ।

    अघिल्लो वर्षको फागुन महिनामा १५१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

    अमेरिकी डलरमा गणना गर्दा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

    अघिल्लो वर्ष डलरमा यस्तो आप्रवाह ७१ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) समेत बढेर १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो ।

    यसैबिच, वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्यामा भने केही फेरबदल देखिएको छ ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या ३ लाख १७ हजार ६८ रहेको थियो ।

    अर्कोतर्फ, पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने वृद्धि भएको छ ।

    अघिल्लो वर्षको आठ महिनामा २ लाख १७ हजार ४०३ जनाले पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष सोही अवधिमा २ लाख ५१ हजार ९८५ जनाले यस्तो स्वीकृति लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images