images
images
  • चितवनमा एकै दिन दुई सवारी दुर्घटना, २५ जना घाइते

    काठमाडौं- चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन् ।

    केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    दासढुङ्गामा आज अपराह्न ३ः४० बजे बस र तेल ट्याङकर ठोक्किँदा १३ जना तथा घुमाउने क्षेत्रमा यात्रुवाहक ईभी माइक्रो र टिपर ठोक्किँदा चालकसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दासढुङ्गामा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारामा रोकिएको ना ४ ख २५०३ नम्बरको तेल बोकेको ट्याङ्करलाई ठक्कर दिएको थियो ।

    घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा पठाइएको छ ।

    घाइतेमध्ये नाम, थर र वतन नखुलेका अन्दाजी ३८ वर्षीया महिला र २५ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको तथा उनीहरू बोल्न नसक्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

    अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ । दुर्घटनापछि बस र ट्याङ्करका चालक फरार रहेका छन् ।

    त्यसैगरी आजै घुमाउने क्षेत्रमा भएको दुर्घटनामा काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००९३ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट जाँदै गरेको ना २ क ५८८ नम्बरको टिपर ठोक्किएका हुन् ।

    दुर्घटनामा परेको माइक्रोमा तीर्थ यात्रामा निस्किएका महोत्तरीको किसाननगर–६ स्थित ‘न्यू सरस्वती स्वावलम्बन महिला केन्द्र ९नम्बर ८८०’ का सदस्यहरू सवार थिए ।

    सबै घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा एक जनाको अवस्था गम्भीर, नौ जनाको मध्यम र तीन जनाको सामान्य रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images