काठमाडौं– मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट अर्याललाई पक्राउ गरेको थियो ।
थप अनुसन्धानका लागि काठमाडौं ल्याइएका उनलाई शुक्रबार म्याद थपका लागि सरकारी वकिल कार्यालय उपस्थित गराइएको हो । त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ ।
तत्कालीन श्रमसचिव रहेका अर्यालमाथि मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा उठाइएको रकम विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ । यस प्रकरणमा सात लाखभन्दा बढी श्रमिकबाट प्रतिव्यक्ति थप १०० मलेसियन रिंगिट असुल गरिएको प्रहरीको दाबी छ ।
यसरी संकलित एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम १७ पटक गरी विदेश पठाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रकरणमा यसअघि तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका पूर्वसचिव, कर्मचारी तथा निजी कम्पनीका सञ्चालक पक्राउ परिसकेका छन् ।
प्रहरीले ठगी तथा संगठित अपराध निवारण ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ । अर्याल २०८२ मंसिर ९ गते मुख्यसचिवबाट अनिवार्य अवकाशमा गएका थिए ।






















