काठमाडौं- भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप १५ दिन २४ सै घण्टा नेपालमा विद्युत निर्यातको लागि अनुमति दिएको छ ।
विद्युत प्राधिकरणका अनुसार यसअघि मार्च ३१ सम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत निर्यातको अनुमति दिएको थियो ।
तर अहिले भारतले थप गरेर १ अप्रिलदेखि १५ दिन २४ सै घण्टा विद्युत निर्यात गर्न अनुमति प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
उनका अनुसार त्यसपछि लागु रहेको व्यवस्था परिमार्जन गर्दै अप्रिल १६ देखि ३० सम्मका अर्थात बैशाख १ देखि जेठ १५ गतेसम्म दैनिक १६ घण्टा विद्युत् निर्यात अनुमति दिने भएको छ ।
भारतले अनुमति अनुसार १६ घण्टा विद्युत आयात गर्न पाउँदा नेपालको माग पूरा गर्न सकिने शाक्यको भनाई थियो ।
यस अवधिमा बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै भारतले नेपाललाई विद्युत् निर्यात गर्नेछ भने बेलुका ६ बजेदेखि बिहान २ बजेसम्म बन्द रहनेछ ।
त्यसपछि १ जुलाईदेखि ३१ अगस्टसम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत दिने अनुमति पाएको उनको भनाइ छ ।
१ मे देखि ३० जुनसम्म समेत दैनिक १६ घण्टा नै विद्युत दिनेछ ।
तर सो अवधिमा बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत् दिनेछ ।
बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म भने बन्द रहनेछ ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय पावर एक्स्चेन्जमार्फत मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट ६०० मेगावाटसम्म विद्युत् निर्यातका लागि अनुमति दिएको प्राधिकरणले जनाएको छ ।


विश्व खबर 




















