images
images
  • कांग्रेस देउवा–शेखर पक्षको छुट्टै बधाई तथा सम्मान कार्यक्रममा पुगे नवनिर्वाचित सांसदहरू

    काठमाडौं– नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद झन् चर्किएको छ ।

    माघ १ मा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएसँगै पार्टीभित्र शक्ति संघर्ष तीव्र बनेको हो ।

    विशेष महाधिवेशनको वैधतामाथि शेरबहादुर देउवा र शेखर कोइराला समूहले अझै असहमति जनाउँदै आएका छन् ।

    यही कारण पछिल्ला दिनहरूमा कांग्रेसभित्र समानान्तर गतिविधि देखिन थालेको छ ।

    एकातर्फ पार्टी केन्द्रीय कार्यालयमा थापा नेतृत्वको समूहले नियमित बैठक र संगठनात्मक गतिविधि अघि बढाइरहेको छ भने अर्कोतर्फ खड्का–कोइराला पक्षले छुट्टै रणनीतिक छलफललाई तीव्र बनाएको छ ।

    उक्त समूहका नेताहरू अहिले विभिन्न होटलहरूमा भेला हुँदै शक्ति प्रदर्शन र समन्वयमा केन्द्रित देखिन्छन् ।

    यसैबीच, आज धुम्बाराहीस्थित एक होटलमा खड्का–कोइराला समूहले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

    कार्यक्रममा शेखर कोइराला र पूर्णबहादुर खड्का लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

    कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू विष्णु खड्का, रिना उप्रेती केसी, गंगालक्ष्मी अवाल, सीता थपलिया (उर्मिला), रुक्मिणी कोइराला, निनु कर्ण, हरिनादेवी कामी, सुशीला ढकाल, गीता सेन्दाङ, टेकबहादुर गुरुङ तथा राष्ट्रियसभाका सदस्यहरू रन्जित कर्ण, गीता देवकोटा, खम्मबहादुर खाती, चन्द्र केसी र जगत तिमिल्सिना लगायतको सहभागिता रहेको छ ।

    पार्टीभित्र बढ्दो ध्रुवीकरणले आगामी दिनमा नेपाली कांग्रेसको आन्तरिक एकता र राजनीतिक दिशामाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images