काठमाडौं– रूस–युक्रेन युद्ध जारी रहँदा उत्तर कोरियाले रूसलाई दिँदै आएको सैन्य सहयोग अस्थायी रूपमा रोकेको दाबी गरिएको छ । युक्रेनको सैन्य गुप्तचर निकाय (जीयूआर) का अनुसार उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखानाका गोला र सैनिक आपूर्ति रोक्ने संकेत दिएको हो ।
रूसका उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले दक्षिण कोरिया र उत्तर कोरियाबीचको तनाव कम गर्न मस्कोले सहयोग गर्ने बताएपछि दुई देशबीच कूटनीतिक विवाद उत्पन्न भएको बताइएको छ । उत्तर कोरियाली विदेशमन्त्री चोई सोन–हुईले रूसको टिप्पणी आफ्नो गठबन्धनसँग मेल नखाने भन्दै दक्षिण कोरियाप्रतिको नीति स्पष्ट पार्न माग गरेकी थिइन् ।
गुप्तचर प्रतिवेदनअनुसार उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्तिगत रूपमा रूसलाई दिइने सैन्य सहायता रोक्न अनुरोध गरेका छन् । यसमा केएन–२३ ब्यालिस्टिक क्षेप्यास्त्र, तोपखानाका गोला र रूसी सैन्य उडानसमेत समावेश रहेको दाबी छ ।
उत्तर कोरिया रूसको युद्ध प्रयासका लागि महत्त्वपूर्ण सहयोगी रहँदै आएको छ । उसले सन् २०२३ देखि रूसलाई हतियार र २०२४ देखि सैनिक पठाउँदै आएको बताइएको छ । युक्रेनी तथा पश्चिमा अधिकारीहरूका अनुसार कुर्सक क्षेत्रमा तैनाथ उत्तर कोरियाली सैनिकमध्ये हजारौँको मृत्यु भएको छ ।
यद्यपि, रूस र उत्तर कोरियाबीच कूटनीतिक सम्पर्क जारी रहेको छ । सन् २०२४ मा हस्ताक्षर भएको व्यापक रणनीतिक साझेदारी सम्झौतामा पारस्परिक रक्षाको प्रावधानसमेत छ । त्यसैले सैन्य सहयोग रोकिएको दाबीले दुई देशबीच वास्तविक खटपट सुरु भएको हो वा कूटनीतिक दबाबको रणनीति हो भन्ने अझै स्पष्ट भएको छैन ।






















