काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि सुरु गरिएको एमालेको आन्दोलनमा सीमित कार्यकर्ताको मात्र सहभागिता देखिएको छ ।
पार्टी केन्द्रीय निर्णयमा आधारित आन्दोलनमा पार्टी र जनवर्गीय संगठनका नेताहरू सहभागी नभएकाले निषेधित क्षेत्रमा भएको प्रदर्शनमा धेरै कार्यकर्ता घाइते भएका छन् ।
शनिबार अध्यक्ष ओली पक्राउ परेपछि पार्टी सचिवालय बैठकले महासचिव शंकर पोखरेलमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
तर, अध्यक्ष बाहेकका १७ पदाधिकारी र जनवर्गीय संगठनका नेता सडकमा उपस्थित देखिएका छैनन् ।
शनिबार बानेश्वरदेखि माइतीघर र चावहिलसम्म प्रदर्शन भए पनि आइतबार बबरमहल र माइतीघरमा मात्र झन्डै २०० जनामा सीमित भएको थियो ।
पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे पक्षले लाखौँ कार्यकर्ता सडकमा नउतार्न भनेको र पार्टी नेतृत्व घरमै बसेको कारण आन्दोलन अझै खुम्चिने संकेत देखिएको छ ।























