काठमाडौं– बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारले आक्रामक शैलीमा उच्च तहका राजनीतिक व्यक्तिहरूमाथि कारबाही अघि बढाएको छ ।
सरकार गठन भएको तीन दिनभित्रै पाँच जना विशिष्ट व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।
पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेको थियो ।
आयोगले उनीहरूलाई लापरबाहीको ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।
त्यसपछि एमाले नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परे भने नेपाली कांग्रेसका नेता दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
त्यस्तै, एमाले नेतृ रेखा शर्मा बाल श्रम तथा दुव्र्यवहार आरोपमा पक्राउ परेकी छन् ।
अर्का नेता महेश बस्नेतविरुद्ध बलात्कारसम्बन्धी उजुरी परेपछि उनीमाथि निगरानी बढाइएको छ र उनी सम्पर्कविहीन रहेको जनाइएको छ ।
यसैबीच, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा माथि पनि सम्पत्ति शुद्धीकरण मुद्दामा गोप्य अनुसन्धान सुरु गरिएको छ ।
साथै, नेकपा संयोजक पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल माथि विभिन्न आर्थिक र नीतिगत अनियमिततासम्बन्धी छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी नेकपाकै सह–संयोजक माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा प्रकरण, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु देउवा राणामाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेको प्रहरी स्रोतको भनाइ छ ।























