काठमाडौं– एक महिनाअघि अमेरिका–इजरायलले इरानमा आक्रमण गरेपछि सुरु भएको युद्ध थप चर्किरहेका समय आइतबार इरानको मध्य शहर इस्फाहानको एक विश्वविद्यालयमा दोस्रो पटक हवाई आक्रमण भएको छ ।
फार्स समाचार एजेन्सीले अधिकारीलाई उद्धृत गरी दिएको समाचारमा भनिएको छ, ‘इस्फाहान युनिभर्सिटी अफ टेक्नोलोजी अमेरिका–इजरायलसँगको इरान युद्धको समयमा दोस्रो पटक हवाइ आक्रमणको निशानामा परेको छ । प्रारम्भिक विवरणअनुसार विश्वविद्यालयको एउटा अनुसन्धान संस्थामा भएको आक्रमणबाट अन्य धेरै भवनमा क्षति पुगेको छ भने विश्वविद्यालयका चार कर्मचारी सामान्य घाइते भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि, अमेरिकासँग इजरायललाई इरानी विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमा आक्रमण गर्नबाट रोक्न पनि माग गरिएको थियो ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले शनिबार इरान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र इस्फहान युनिभर्सिटी अफ टेक्नोलोजी गरी दर्जनाँैं विश्वविद्यालय र अनुसन्धान केन्द्रहरू प्रभावित भएको बताएका छन् ।
इरानले पनि इजरायली विश्वविद्यालयमा प्रतिआक्रमण गर्ने चेतावनी दिएको छ ।


विश्व खबर 




















