काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जनादेशअनुसार मुलुकमा नयाँ सरकार गठन भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा शुक्रबार सरकार बनेसँगै अब आगामी पाँच वर्ष स्थिर शासन रहने अपेक्षा गरिएको छ ।
विगतमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलगायत दलहरूको नेतृत्वमा सरकार सञ्चालन हुँदा भ्रष्टाचार र कुशासन बढेको भन्दै आलोचना हुने गरेको थियो ।
नयाँ पुस्ताको आकांक्षा अनुसार बनेको यस सरकारसँग आर्थिक विकास र सुशासन कायम हुने अपेक्षा नागरिकमा बढेको देखिन्छ ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि देशमा नयाँ राजनीतिक परिस्थिति बनेको थियो ।
उक्त आन्दोलनका क्रममा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको दमनमा १९ जना युवा विद्यार्थीले ज्यान गुमाएका थिए, जसले तत्कालीन सरकारप्रति व्यापक आक्रोश पैदा गर्यो ।
त्यसको परिणामस्वरूप कांग्रेस–एमाले नेतृत्वको सरकार ढलेको थियो ।
त्यसपछि गठन भएको अन्तरिम सरकारले आन्दोलनको सत्यतथ्य छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्रकुवेर खापुङलगायतलाई फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ ।
संयोगवश, सोही घटनामा कारबाहीको माग गर्दै तत्कालीन सरकारमाथि दबाब दिने सुदन गुरुङ अहिले बालेन सरकारमा गृहमन्त्री बनेका छन् ।
उनी यसअघि ओली र लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै देशव्यापी आन्दोलनको चेतावनी दिएका व्यक्तिका रूपमा चिनिन्छन् ।
गत मंसिर २१ गते सामाजिक सञ्जालमार्फत उनले तत्कालीन गृहमन्त्रीलाई चुनौती दिँदै दोषीलाई कारबाही नगरे देशभर आन्दोलन चर्किने चेतावनी दिएका थिए ।
त्यतिबेला उठाएका प्रश्नहरू अब उनी आफैंतर्फ फर्किने स्थिति बनेको छ ।
कार्की आयोगले प्रतिवेदन तयार गरिसकेको र नयाँ सरकार गठन भइसकेको अवस्थामा अब उक्त प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी बालेन नेतृत्वको सरकारमाथि आएको छ ।
यद्यपि, यस्तो निर्णय मन्त्रिपरिषद्बाट हुनुपर्ने भएकाले गृहमन्त्री गुरुङ एक्लैले कारबाही अघि बढाउन सक्ने अवस्था छैन ।
मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्र प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउनेछ ।
त्यसपछि प्रमाण संकलन गरी सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदालतमा दायर गर्ने वा नगर्ने निर्णय हुनेछ ।
यस प्रक्रियामा महान्यायाधिवक्ताको कार्यालयको पनि महत्वपूर्ण भूमिका रहन्छ ।
यसैबीच, गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले भने, “प्रधानमन्त्रीको निर्देशनअनुसार प्रतिवेदन कार्यान्वयन हुन्छ । यसमा कसैलाई छुट हुँदैन र हुनु पनि हुँदैन । कानूनअनुसार अगाडि बढिन्छ।”























