काठमाडौं– पूर्वप्रधानमन्त्री हसिनाले यसअघि पनि पटक–पटक बंगलादेश फर्किने प्रतिबद्धता जनाउँदै आएकी थिइन् । तर, यसपटक उनले स्वदेश फर्किने मिति नै घोषणा गरेकी छन् ।
उनका अनुसार उनी १६ डिसेम्बरमा बंगलादेश फर्किनेछिन् र त्यसका लागि यात्राको योजनासमेत बनाएकी छन् । यो पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भएको दिन हो ।
ढाकास्थित सरकारले यसअघि उनको फर्किने सम्भावनालाई अस्वीकार गर्दै आएको थियो । तर, पछिल्लो घोषणालाई भने गम्भीर रूपमा लिएको छ ।
७९ वर्षीया हसिना सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले १५ वर्षे शासन अन्त्य गरेपछि दिल्ली भागेकी थिइन् । उनका प्रवक्ताका अनुसार उनी सन् १९७१ को मुक्ति युद्धमा पाकिस्तानमाथि बंगलादेशले विजय हासिल गरेको दिन अर्थात् विजय दिवसमा स्वदेश फर्किने योजनामा छिन् ।
मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै हसिनालाई मृत्युदण्ड सुनाइएको छ । उनी अनुपस्थित रहेको अवस्थामा गरिएको सुनुवाइले न्यायिक प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएको थियो ।
उनको पार्टी अवामी लिगलाई बंगलादेश प्रतिबन्ध लगाइएको छ । संयुक्त राष्ट्रसंघका अनुसार आन्दोलनका क्रममा सुरक्षा बलले १ हजार ४०० जनासम्मको ज्यान लिएको थियो ।
बंगलादेश सरकारले हसिना स्वदेश फर्किएलगत्तै पक्राउ गरिने र मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । हसिनाले अहिले दिल्लीबाट बंगलादेश फर्किने हवाई उडानको व्यवस्था सरकारले गरिदिन आग्रह गरेकी छन् ।
त्यो सम्भव नभए व्यावसायिक उडानबाट वा स्थलमार्ग हुँदै सीमा पार गरेर फर्किने विकल्प पनि उनले अघि सारेकी छन् । ‘उनी बंगलादेश प्रवेश गर्न पैदल हिँड्नसमेत तयार छिन्,’ हसिनाका निकट सहयोगी अबु ओबैदा अरिनले बीबीसीलाई बताए ।
भारत–बंगलादेश सीमा र हसिनाको फर्किने योजना
भारत र बंगलादेशबीच पाँच भारतीय राज्य हुँदै ४ हजार ९६ किलोमिटर लामो सीमा जोडिएको छ । ती राज्य पश्चिम बंगाल, असम, मेघालय, त्रिपुरा र मिजोरम हुन् ।
अरिनका अनुसार हसिनाका समर्थकहरूले सीमा पार गर्न सकिने नौवटा सम्भावित नाका पहिचान गरेका छन् । ‘यो निकै सोचविचार गरेर बनाइएको सटीक योजना हो । यो गम्भीर विषय हो,’ उनले भने ।
ढाकाले भने हसिनालाई सुपुर्दगी गर्नुपर्ने माग गर्दै कडा प्रतिक्रिया दिएको छ । बंगलादेशका विदेश मामिला राज्यमन्त्री हुमायुन कबिरले पत्रकारहरूसँग भने, ‘इच्छा र वास्तविकता फरक कुरा हुन् । उनी सामान्य व्यावसायिक यात्रु होइनन् । उनलाई हतकडी लगाएर मात्रै फर्काउन सकिन्छ ।’
भारतको विदेश मन्त्रालयले बुधबार हसिनाको सुपुर्दगीसम्बन्धी अनुरोध स्थापित प्रक्रियाअनुसार विचाराधीन रहेको जनाएको छ । स्वेच्छाले स्वदेश फर्किने विषय भने अलग रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
हसिनाको घोषणा स्वदेश फर्किने वाचामात्र होइन
ढाकाका धेरै मानिस हसिनाको घोषणालाई स्वदेश फर्किने वाचाभन्दा बढी अर्थमा हेरिरहेका छन् । उनीहरूको बुझाइमा यो घोषणा सरकारको अधिकार परीक्षण गर्ने, आफूलाई पुनः राजनीतिक बहसको केन्द्रमा ल्याउने र हसिनालाई सत्ताबाट हटाउन एकजुट भएका दलहरूबिचको विभाजन उपयोग गर्ने प्रयास हो ।
यसले भारतका लागि पनि पूर्वसहयोगीलाई शरण दिएर उत्पन्न भएको समस्यालाई थप जटिल कूटनीतिक संकटमा परिणत गर्न सक्छ । हसिनाले १६ डिसेम्बरको मिति रोज्नु अर्थपूर्ण छ । विजय दिवसका दिन फर्किने घोषणा गरेर उनले बंगलादेशको स्थापना र राष्ट्र निर्माणको इतिहासमा आफ्नो स्थान पुनः दाबी गर्न खोजेकी छन् । उनका सहयोगीहरूका अनुसार उनले निर्वासनमा रहेर पनि पार्टीलाई जीवित राख्न महिनौँदेखि प्रयास गर्दै आएकी छन् ।
निर्वासनबाटै पार्टी कार्यकर्तासँग संवाद
अरिनका अनुसार हसिनाले टेलिग्राममार्फत अडियो संवाद गरेर पार्टीका नेता तथा कार्यकर्तासँग नियमित सम्पर्क राख्दै आएकी छन् । यसबाट निर्वासनमा रहे पनि पार्टीको सञ्जाल कायम राख्न मद्दत पुगेको छ ।
पछिल्लो १८ महिनामा उनले ३०० भन्दा बढी यस्ता बैठक गरेको अरिनको दाबी छ । ती संवाद देशका ६४ जिल्ला र ३०० निर्वाचन क्षेत्रका समर्थकसम्म पुगेका छन् । अवामी लिगका ७८ संगठनात्मक इकाइमार्फत बैठक आयोजना हुने गरेको र कतिपय बैठक चारदेखि पाँच घण्टासम्म चल्ने गरेको उनले बताए ।
यी बैठकमा हसिनाले कार्यकर्ताका गुनासा सुन्ने, उनीहरूको अवस्था बुझ्ने र स्थानीय घटनाक्रमबारे जानकारी लिने गरेको अरिन बताउँछन् । उनका अनुसार पार्टीको प्रतिक्रिया निकै उत्साहजनक छ ।
उनले हसिनाको स्वागतमा सीमादेखि ढाकासम्म पाँच लाख होइन, ५० लाख मानिस परिचालन गर्न सकिने र उनीहरू मानव साङ्लो बनाएर स्वागत गर्न तयार रहेको दाबी गरे ।
‘त्यस्तो गर्न हाम्रो संगठनात्मक क्षमता छ,’ उनले भने । तर, यो दाबी निकै महत्वाकांक्षी देखिन्छ । अवामी लिग अझै लाखौँ समर्थक भएको जनआधारित पार्टी हो ।
तर प्रतिबन्धका कारण मूलधारको राजनीतिबाट लगभग बाहिर छ । पार्टीका धेरै नेता विदेशमा, जेलमा वा भूमिगत छन् । प्रहरीले समर्थकहरूलाई पक्राउ गरेको छ र पार्टी कार्यकर्ताविरुद्ध हजारौँ मुद्दा दर्ता गरेको छ ।
यद्यपि, समर्थकहरूले सडक प्रदर्शन जारी राखेका छन् । पछिल्ला महिनाहरूमा यस्ता आकस्मिक प्रदर्शन बढ्दै गएका छन् र झन् आक्रामकसमेत बनेका छन् ।
अवामी लिगका प्रदर्शन र हिंसात्मक घटनाहरू
बंगलादेशका विभिन्न जिल्लामा बम विस्फोट, आगजनी र तोडफोडका घटना भएका छन् । तर कतिपय घटनाको जिम्मेवारी कसले लिएको हो भन्ने विवाद कायम छ । हसिनाको पुख्र्यौली जिल्ला गोपालगञ्ज प्रशासनका लागि विशेष चुनौती बनेको छ ।
समाचारअनुसार अवामी लिगका समर्थकहरूले प्रहरी कार्यालयमा आक्रमण गरेका छन्, सवारीसाधन जलाएका छन् र सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेताहरूका घर तथा कार्यालयलाई निशाना बनाएका छन् । कतिपय ठाउँमा रूख ढालेर र टायर बालेर राजमार्ग अवरुद्ध गरिएको छ, जसका कारण यातायात ठप्प भएको छ । थप आक्रमणको डरले केही क्षेत्रमा प्रहरीसमेत पछि हटेको छ ।
सशस्त्र द्वन्द्व तथा हिंसाका घटनाको निगरानी गर्ने संस्था एसीएलईडीका तथ्यांकअनुसार नोभेम्बर २३ सम्म अवामी लिगले ४० वटा प्रदर्शन र १४० भन्दा बढी दंगा गराएको छ ।
यस महिनाको राजनीतिक हिंसामा कम्तीमा ११ जनाको मृत्यु भएको छ, जसमा दुई सर्वसाधारण छन् । तीमध्ये छ जनाको मृत्यु प्रत्यक्ष रूपमा अशान्तिसँग जोडिएको एसीएलईडीले जनाएको छ ।
तर, पार्टीले अवरोध सिर्जना गर्न सक्ने क्षमताले मात्र व्यापक राजनीतिक पुनरुत्थान भएको प्रमाणित गर्दैन । ढाकाका धेरै मानिस हसिना वास्तवमै फर्किनेमा विश्वस्त छैनन् । उनीहरू यस घोषणालाई निराश पार्टीका कार्यकर्तालाई उत्साहित बनाउने रणनीतिका रूपमा हेर्छन् ।
यद्यपि अवामी लिगले राजनीतिक रूपमा एउटा उपलब्धि हासिल गरेको छ, पार्टी फेरि राजनीतिक बहसमा फर्किएको छ । हसिना सत्ताबाट हटेपछि अवामी लिगको नामसमेत लिन असहज मानिन्थ्यो । अहिले भने पार्टीको भविष्यबारे विभिन्न राजनीतिक पक्षमा बहस हुन थालेको छ ।
राजनीतिक विभाजनको फाइदा उठाउँदै अवामी लिग
अंग्रेजी दैनिक डेली वादा का सम्पादक तथा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका पूर्व प्रेस सचिव शफिकुल आलम पार्टीले आन्दोलनका क्रममा बनेको एकतालाई कमजोर बनाउने प्रयास गरिरहेको बताउँछन् ।
उनका अनुसार जुलाई चार्टर, प्रस्तावित संवैधानिक परिवर्तन र जनमत संग्रहका विषयमा भएका मतभेदले निर्वाचित बीएनपी सरकार र उसका प्रतिस्पर्धी जमात–ए–इस्लामी तथा युवाहरूको नेतृत्वमा रहेको नेसनल सिटिजन पार्टी (एनसीपी) बीचको विभाजनलाई बढाएको छ ।
‘अवामी लिगले यसमा अवसर देखेको छ,’ आलम भन्छन्, ‘पार्टीले कमजोर प्रहरी बल र जुलाई आन्दोलनका शक्तिहरूबीचको विभाजनको फाइदा उठाउँदै सडकमा उत्रिने यो उपयुक्त समय ठानेको छ ।’
विश्लेषकहरूका अनुसार हसिना फर्किएमा पार्टीको राजनीतिक अवस्था सुध्रिनुको सट्टा देशमा शत्रुता अझ बढ्न सक्छ । सरकारले हालैका छिटफुट हिंसालाई आतंकवादको संज्ञा दिएको छ भने समर्थकहरूले आफ्ना प्रदर्शन शान्तिपूर्ण रहेको दाबी गर्दै सरकारमाथि दमन गरेको आरोप लगाएका छन् ।
ठूलो प्रश्न भनेको अवामी लिगजस्तो महत्वपूर्ण राजनीतिक समूहलाई राजनीतिबाट बाहिर राखेर बङ्गलादेशले थप अस्थिरता सिर्जना नगरी अघि बढ्न सक्छ कि सक्दैन भन्ने हो ।
भारतका लागि झन् जटिल बन्दै गएको परिस्थिति
भारतका लागि यो समस्या व्यवस्थापन गर्न झन् कठिन हुँदै गएको छ । दिल्लीले हसिनालाई शरण दिएको छ । तर उनका सार्वजनिक अभिव्यक्तिले ढाकालाई आक्रोशित बनाएको छ । बंगलादेशले हसिनालाई सुपुर्दगी गर्न माग गरिरहेको छ ।
भारतले व्यापार, सीमा सुरक्षा र अन्य द्विपक्षीय विषयमा छलफल तथा कूटनीतिक सम्पर्क बढाएर सम्बन्ध सुधार्ने प्रयास गरेको छ । तर दुई देशबिचको सम्बन्ध अझै तनावपूर्ण छ । यो तनाव उल्लेखनीय छ । प्रधानमन्त्री तारिक रहमान सत्तामा आएको झन्डै १० महिना बितिसक्दा पनि भारत भ्रमणमा गएका छैनन् ।
अगस्टमा उनको भारत भ्रमण हुने चर्चा थियो । तर दिल्लीमा हसिनाले पत्रकार सम्मेलन गरेपछि सम्बन्ध सुधार्ने प्रयासमा धक्का लागेको थियो । लन्डनस्थित एसओएएस विश्वविद्यालयमा राजनीति तथा अन्तर्राष्ट्रिय अध्ययन अध्यापन गर्ने अविनाश पालिवालका अनुसार हसिनाको पछिल्लो घोषणाले निर्णय गर्ने दबाब दिल्लीबाट ढाकातर्फ सारेको छ ।
उनका अनुसार दिल्लीले पछिल्लो १० महिनामा रहमान सरकारसँग सहकार्य गर्न निकै प्रयास गरेको ठानेको छ । मन्त्रिपरिषद् स्तरको हैसियतसहित राजनीतिक रूपमा प्रभावशाली उच्चायुक्त नियुक्त गर्नेदेखि सुरक्षा र व्यापारसम्बन्धी नयाँ वार्ता प्रस्ताव गर्नेसम्म भारतले पहल गरेको छ ।
‘यी प्रयास असफल भएपछि भारत ढाकासँग निराश भएको छ । भारतले जे गरे पनि द्विपक्षीय सम्बन्ध तनावपूर्ण रहने सम्भावना देखेको छ । त्यसैले हसिनालाई राजनीतिक वातावरण तताउनबाट रोक्ने कारण कम देखेको हुन सक्छ,’ पालिवालले भने ।
उनका अनुसार भारतसँग हसिनालाई भारतीय भूमिबाट राजनीतिक अभिव्यक्ति दिन रोक्ने क्षमता छ, तर भारतले त्यो शक्ति प्रयोग गर्न नचाहेको हुन सक्छ ।भारतको हित अवामी लिग बंगलादेशको राजनीतिबाट स्थायी रूपमा बाहिरिनुमा पनि छैन ।
अवामी लिगलाई पुनः राजनीतिमा ल्याउने विषयमा मतभेद
‘अवामी लिगले बंगलादेशका विभिन्न भागमा अझै समर्थन पाउँछ र देशको सामाजिक तथा राजनीतिक संरचनामा गहिरो रूपमा जोडिएको छ,’ पालिवाल भन्छन् । ‘त्यसैले अवामी लिगलाई पुनः राजनीतिक रूपमा स्वीकार्य बनाउनु र राजनीतिक मेलमिलापको बाटो लिनु भारतको हितमा मात्र होइन, बंगलादेशको दीर्घकालीन हितमा पनि छ ।’तर ढाकामा यो दृष्टिकोणको विरोध बढिरहेको छ ।
‘भारत अवामी लिगलाई पुनः स्थापित गर्न चाहन्छ भन्ने धारणा बंगलादेशमा छ । भारतले हसिनाको सुपुर्दगीसमेत टुंग्याएको छैन । बंगलादेशी कपडा निर्यातकर्तालाई फाइदा पुग्ने पारवहन सुविधा पनि भारतले नवीकरण गरेको छैन । गंगा जल सम्झौताको अवधि सकिन लागेको छ, तर प्रगति खासै भएको छैन । यस्तो अवस्थामा भारतले विश्वास पुनः जित्न पर्याप्त प्रयास गरेको छ त ? आलमले प्रश्न गरे ।
‘अहिलेसम्म पर्यटक र मेडिकल भिसा मात्रै पुनः सुरु भएका छन् । अन्य सबै विषय अनिश्चित अवस्थामा छन् ।’ ढाकामा रहेका एक विदेश नीति विशेषज्ञ, जसले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन्, दुई देशबिच ‘पारस्परिक निराशा’ कायम रहेको बताउँछन् ।
हसिना अहिले पनि समस्याको केन्द्रमा छिन् । ‘उनी कोठामा रहेको हात्ती जस्तै हुन्, अर्थात् सबैलाई थाहा भएको तर खुलेर समाधान गर्न नसकिएको ठूलो समस्या । तर हामीले हसिनाभन्दा अगाडि बढ्ने बाटो पनि खोज्नुपर्छ,’ ती विशेषज्ञले भने ।
हसिना फर्किएपछि नयाँ सुनुवाइ र अवामी लिगको पुनर्संरचना
पालिवालका अनुसार भारतका लागि सबैभन्दा कम क्षति हुने विकल्प हसिना बंगलादेश फर्किएर नयाँ सुनुवाइको सामना गर्नु र अवामी लिगलाई नयाँ कार्यकारी नेतृत्वअन्तर्गत पुनः राजनीतिक रूपमा सक्रिय बनाउनु हुन सक्छ ।
‘यसले बङ्गलादेशको राजनीतिमा केही सन्तुलन पुनःस्थापित गर्नेछ र भारतलाई आफ्ना दीर्घकालीन हित तथा सम्बन्धलाई अझ राम्रोसँग सुरक्षित गर्ने अवसर दिनेछ,’ उनले भने ।
अहिलेसम्म १६ डिसेम्बरको यात्रा निश्चित भइसकेको छैन । तर हसिनाले आफ्नो स्वदेश फर्किने विषयलाई यस्तो प्रश्न बनाइसकेकी छन्, जसलाई ढाका वा दिल्ली दुवैले बेवास्ता गर्न सक्दैनन् ।
‘डिसेम्बर अराजक हुन सक्छ । ढाकाका सबैजना तनावमा छन्,’ विदेश नीति विशेषज्ञले भने । हसिनाको प्रस्तावित स्वदेश फिर्ती मिति नजिकिँदै गर्दा प्रदर्शन र भिडन्त हुन सक्ने चेतावनी दिँदै उनले यात्रा फेरि स्थगित हुन सक्ने सम्भावना पनि औँल्याए ।
‘हसिना फर्किने सम्भावना कम छ, किनकि उनले मृत्युदण्डको सामना गर्नुपर्नेछ । तर उनका अभिव्यक्तिले समर्थकहरूलाई स्पष्ट रूपमा उत्साहित बनाएको छ,’ एसीएलईडीकी दक्षिण एसिया विश्लेषक पर्ल पाण्ड्याले भनिन् ।
हसिनाको मुद्दाले भारत–बंगलादेश सम्बन्धलाई पनि थप जटिल बनाइरहेको छ । पालिवालका अनुसार अब गम्भीर वार्ताको अर्को चरण हसिना ढाका फर्किएपछि मात्रै सुरु हुनेछ, अथवा ढाकाले दबाब स्वीकार गरेर पुनः वार्ताको टेबलमा आएपछि मात्रै सम्भव हुनेछ । –एजेन्सीको सहयोगमा






















