images
images
  • चुनावबाट बढारिएका कम्युनिष्ट पार्टीबीच एकता कति सम्भव ? के भन्छन् नेताहरू ?

    काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएपछि वामपन्थी दलहरूबीच फेरि एकताको बहस सुरु भएको छ ।

    चुनाव परिणाम सार्वजनिक भएको केही दिनमै चैत ९ गते झापाका केही कम्युनिस्ट अगुवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वाम शक्तिहरूबीच एकीकृत पहलको आवश्यकता औंल्याएका थिए ।

    विज्ञप्तिमा जनताले अपेक्षा गरेअनुसार नेतृत्व र कार्यशैली परिवर्तन हुन नसकेको निष्कर्ष निकाल्दै उनीहरूले भनेका छन्, ‘अब एकीकृत पहल नगरी कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकिँदैन ।’

    उक्त पहलमा विभिन्न वामपन्थी धारका नेताहरूको संलग्नता देखिए पनि यसले औपचारिक राजनीतिक तहमा भने खासै प्रभाव पार्न सकेको छैन ।

    नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले चुनावपछि एकताको कुरा उठ्नु स्वाभाविक भए पनि त्यसलाई गम्भीर रूपमा लिन नसकिने टिप्पणी गरे ।

    उनका अनुसार अहिलेको आवश्यकता एकता होइन, संगठनको पुनर्गठन र नयाँ नेतृत्वको विकास हो ।

    ‘जनताले मत दिइसकेपछि एकताको बहस उठाउनु ‘फोहर गरेपछि दैलो देखे’ जस्तै हो,’ उनले भने ।

    त्यस्तै, नेकपाका नेता बेदुराम भुसालले पनि केही व्यक्तिहरूको पहलले मात्र एकता सम्भव नहुने बताए ।

    उनले भने, ‘यो संस्थागत बहस होइन । केही निष्क्रिय व्यक्तिहरूले निकालेको विज्ञप्तिले मात्र सार्थकता पाउँदैन ।’

    भुसालका अनुसार, नेकपाले चुनावअघि नै एकता अभियान थाले पनि त्यसले जनतामा उल्लेखनीय प्रभाव पार्न सकेको थिएन ।

    उनले चुनावी अंकगणितको उदाहरण दिँदै भने, ‘कतिपय क्षेत्रमा एमाले र नेकपाको मत जोड्दा पहिलो देखिन्छ । तर, व्यवहारमा सहकार्य गर्दा त्यही परिणाम आउँछ भन्ने ग्यारेन्टी हुँदैन । उम्मेदवार चयनदेखि रणनीतिसम्म सबै कुरा फरक पर्छ ।’

    इतिहासले पनि वाम एकताको उतारचढाव देखाइसकेको छ ।

    २०७४ को निर्वाचनमा केपी शर्मा ओली नेतृत्वको एमाले र पुष्पकमल दाहाल नेतृत्वको माओवादीबीच चुनावी तालमेल भएको थियो ।

    त्यसपछि २०७५ जेठमा दुई दल एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो, जहाँ ओली र प्रचण्ड सह–अध्यक्ष थिए ।

    तर, आन्तरिक विवादका कारण २०७७ फागुनमा उक्त एकता भंग भई दुवै दल पुनः अलग भएका थिए ।

    यसपटकको निर्वाचन परिणामले दुवै दललाई झस्काएको छ ।

    एमाले २५ सिटमा सीमित भएको छ भने नेकपाले पनि जम्मा १७ सिटमा चित्त बुझाउनुपरेको छ ।

    एमालेका अधिकांश शीर्ष नेताहरू प्रत्यक्षतर्फ पराजित भएका छन् भने नेकपातर्फ पनि केही शीर्ष नेताहरू हार व्यहोरेका छन् ।

    यस्तो अवस्थामा फेरि एकताको बहस उठ्नु स्वाभाविक देखिए पनि नेतृत्व तहको प्रतिक्रिया हेर्दा तत्काल कुनै ठोस पहल हुने संकेत भने देखिँदैन ।

    राजनीतिक अविश्वास, विगतका तिक्त अनुभव र नेतृत्वबीचको प्रतिस्पर्धा अझै पनि एकताको बाटोमा मुख्य अवरोधका रूपमा देखिन्छन् ।

    अहिलेलाई वाम एकताको बहस राजनीतिक चर्चा र दबाब सिर्जनामा सीमित हुने देखिन्छ ।

    व्यवहारमा परिणत हुन भने अझै समय र परिस्थितिको प्रतीक्षा आवश्यक पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images