काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी आफ्नो कार्यकालभरि विवादास्पद निर्णयका कारण चर्चामा रहिन् ।
नियुक्तिदेखि कार्यकालको अन्त्यसम्म उनले गरेका निर्णयहरू निरन्तर आलोचनाको केन्द्र बने ।
उनले पछिल्लो समय इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक कम्युनिकेशन विरुद्धको कर छलीसम्बन्धी करिब ७ अर्ब रुपैयाँ बराबरको मुद्दा अघि नबढाउने निर्णय गरिन् ।
यसअघि राजस्व अनुसन्धानका आधारमा मुद्दा चलाउने तयारी भए पनि अन्ततः मुद्दा नचल्ने निर्णय सदर भयो ।
त्यसअघि, रास्वपा सभापति रवि लामिछाने संलग्न सहकारी ठगी प्रकरणमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयले पनि व्यापक विवाद निम्त्यायो। उक्त
निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि प्रक्रिया हाल रोकिएको छ ।
कार्यकालको सुरुआतमै आफ्नै आफन्त जोडिएको ‘होप फर्टिलिटी’ क्लिनिकलाई डिम्ब तस्करी प्रकरणमा ‘क्लिन चिट’ दिने निर्णयले स्वार्थ बाझिएको आरोप खेप्नुपर्यो ।
त्यसैगरी, नाबालिग बलात्कार मुद्दामा पुनरावेदन नगर्ने निर्णयले पनि कानुनी र नैतिक बहस सिर्जना गर्यो ।
संविधानले महान्यायाधिवक्तालाई मुद्दा चलाउने वा नचलाउने अन्तिम अधिकार दिएको भए पनि, भण्डारीका निर्णयहरूले उक्त अधिकारको प्रयोगमाथि गम्भीर प्रश्न उठाएका छन् ।























