काठमाडौं- पश्चिम एसियामा इजरायल, इरान र संयुक्त राज्य अमेरिकाबीचको द्वन्द्वका कारण सुरक्षा चिन्तासँगै साइबर ठगीका घटना पनि तीव्र रूपमा बढेका छन् ।
द्वन्द्वको त्रासबीच त्यहाँ रहेका नेपालीहरूलाई लक्षित गर्दै स्क्यामर सक्रिय बनेका हुन् ।
पछिल्ला दिनहरूमा इजरायल, कतार, यूएई लगायतका देशमा रहेका नेपालीको ह्वाट्सएप ह्याक गरेर उनीहरूकै सम्पर्क सूचीमा रहेका आफन्त तथा चिनेजानेकालाई फोन गर्ने, ओटीपी कोड माग्ने र त्यसपछि रकम असुल्ने घटना बढेको पाइएको छ ।
स्क्यामरहरूले ‘नेपाल दूतावासबाट बोल्दैछौं’ भन्दै फोन गर्ने, आपतकालीन उद्दार वा सहयोगको बहानामा पैसा माग्ने गरेको पाइएको हो ।
इजरायलमा रहेका नेपालीहरूको ह्वाट्एप ह्याक गरेर ठगी गर्ने गिरोह सक्रिय देखिएको छ ।
इजरायलमा विभिन्न किसिमका नम्बरहरुबाट नेपाल एम्बेसीबाट कल गरेको भन्दै स्क्यामरले ठगी प्रयास गरेका हुन् ।
स्क्यामरहरूले फोनमा कोड पठाउने, त्यो कोड फोन गरेर माग्ने र त्यो दिएपछि ह्वाट्सएप ह्याक गर्ने गरेको पाइएको हो ।
एनआरएनए इजरायलका अधिकारीहरूले यस्ता खालका घटना व्यापक बढिरहेको भन्दै सचेत रहन अनुरोध गरेका छन् ।
कुनै अन्जान व्यक्तिले फोन गरेर यस्तो किसिमको कोड मागेको खण्डमा नदिन र त्यस्ता व्यक्तिलाई तत्कालै ब्लक गर्न अनुरोध गरिएको छ ।
यस्ता ठगी प्रयास कतार, यूएई, साउदी अरेबिया, कुवेत लगायतका खाडी मुलुकहरूमा समेत देखिन थालेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल र म्यासेन्जर एपमार्फत यस्तो ठगी भइरहेको जनाइएको छ ।
यस विषयमा सम्बन्धित देशमा रहेका नेपाली राजदूतावास, नेपालको परराष्ट्र मन्त्रालयले समेत सचेत गराउँदै आएको छ ।
कुनै पनि दूतावास वा सरकारी निकायले फोन वा सन्देशमार्फत ओटीपी कोड वा गोप्य जानकारी नमाग्न भनेका छन् ।
साथै, अपरिचित नम्बरबाट आएको कल वा सन्देशमा विश्वास नगर्न तथा आर्थिक कारोबार गर्नु अघि आधिकारिक माध्यमबाट पुष्टि गर्न आग्रह गरिएको छ ।
नेपाल प्रहरीले समेत साइबर ठगीका घटना बढ्दो रहेको भन्दै नागरिकहरूलाई बारम्बार सचेत गराउँदै आएको छ ।
प्रहरीले ओटीपी, पासवर्ड तथा व्यक्तिगत विवरण कसैलाई पनि नदिन, शंकास्पद लिंक क्लिक नगर्न, र सामाजिक सञ्जालमा आएका अनौपचारिक सन्देशप्रति सचेत रहन आग्रह गरेको छ ।
अकाउन्ट ह्याक भएको शंका लागेमा तुरुन्तै रिकभर गरी सम्बन्धित निकायमा उजुरी दिन समेत सुझाव दिइएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले ह्वाट्एप ह्याक गरेर ‘म समस्यारअप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस् वा मेरो बैंकिङ एपमा समस्या आएर मैले पैसा पठाउन सकिरहेको छैन, तपाई यस क्यूआर कोडमा पैसा पठाइदिनुहोस्’ भन्ने प्रकारका म्यासेज नजिकका साथीभाइ लगायत आफन्तहरूलाई पठाई ठगी गर्ने घटना बढिरहेको भन्दै सचेत रहन अनुरोध गरेको छ ।
त्यस्तो अवस्थामा यस्ता म्यासेजहरूमा तुरुन्त विश्वास नगर्न, सम्भव भएसम्म सो व्यक्तिलाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्न, शंकास्पद लिंक, कोड वा फाइल क्लिकरडाउनलोड नगर्न अनुरोध गरिएको छ ।
त्यस्तै टु–स्टेप भेरिफिकेसन अनिवार्य रूपमा प्रयोग गर्न, आफ्नो ओटीपीरभेफिरिकेसन कोड कसैलाई नदिन, ह्वाटस्एप वेब प्रयोग गरेपछि लगआउट गर्न नबिर्सन समेत ब्यूरोले अनुरोध गरेको छ ।
द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली मानसिक तनाव र असुरक्षाबीच बाँचिरहेका बेला यस्ता ठगीका घटनाले थप समस्या सिर्जना गरेको छ ।
आपतकालीन अवस्था, डर र अनिश्चितताको अवस्थालाई प्रयोग गरेर स्क्यामरहरूले भावनात्मक दबाब सिर्जना गर्दै ठगी गर्ने गरेको दूतावासहरूले जनाएका छन् ।


विश्व खबर 




















