काठमाडौं- इलन मस्कले सन् २०२२ मा ट्विटर किन्ने ४४ अर्ब डलरको सम्झौतामा पुनरवलोकन गर्न वा ढिलाइ गर्न खोजेर कम्पनीको शेयरधनीहरूलाई ठगी गरेको अमेरिकी अदालतले ठहर गरेको छ।
मस्कले ४४ अर्ब डलरमा सामाजिक सञ्जाल कम्पनी किन्ने प्रतिबद्धता जनाएको केही हप्तापछि २०२२ अप्रिलमा धेरै ट्विटहरू गरेका थिए।
उनले ट्विटरका कार्यकारीहरूले ‘ट्विटरका कुल प्रयोगकर्तामध्ये ५ प्रतिशतभन्दा कम मात्रै स्प्यामरनक्कली खाताहरू हुन्’ भनेर प्रमाणित नगरेसम्मका लागि सो सम्झौता ‘अस्थायी रूपमा रोकिएको’ बताएका थिए।
सम्झौता रद्द हुन सक्ने जोखिमका कारण त्यतिबेला ट्विटरको शेयर मूल्य प्रतिकित्ता ५४.२० डलरबाट घटेर ३० डलरको आसपास पुगेको थियो।
त्यसबेला केही लगानीकर्ताले घटेको मूल्यमा ट्विटरको शेयर बेचेका थिए। तर पछि मस्कले आफूले कबूल गरेकै मूल्यमा ट्विटर किनेका थिए।
त्यसपछि सस्तोमा शेयर बेचेका लगानीकर्ताले मस्कविरूद्ध क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा रहेको अदालतमा मुद्दा हालेका थिए। मस्कले सम्झौता ‘अस्थायी रूपमा रोकिएको’ भनेर गलत ट्विट गरेकाले आफूलाई घाटा भएको जिकिर गरेका थिए।
सो मुद्दामा फैसला सुनाउँदै एक ज्युरीले ती लगानीकर्ताको पक्षमा फैसला गर्दै मस्कले सो कम्पनीको मूल्य घट्ने खालको ट्विट गरेर ठगी गरेको ठहर गरेको छ।
मस्कले नियतवश ठगी गरेको भने ज्यूरीले ठहर गरेन। मस्कले ठगी गरेको ठहर गरेपछि उनले ती लगानीकर्तालाई क्षतिपूर्ति दिनु पर्ने हुन सक्छ।
ज्यूरीले कति क्षतिपूर्ति दिनु पर्ने भनेर चाहिं आदेश दिएको छैन।


विश्व खबर 




















