images
images
  • मानव अधिकार आयोगको जेनजी आन्दोलन छानबिन समितिले बुझायो प्रतिवेदन

    काठमाडौं- गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र आन्दोलनका कारण क्षतिसम्बन्धी छानबिन गर्न गठित मानव अधिकार आयोगको छानबिन समितिले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई शुक्रबार प्रतिवेदन बुझाएको छ।

    आयोगले भदौ २४ मै आयोगकी सदस्य लिलि थापाको नेतृत्वमा अनुसन्धान टोली नै बनाएर छानबिन थालेको थियो ।

    आयोगले चार विषय विभाजन गरेर छानबिन गरिरहेको छ ।

    जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार हनन, २३ भदौको आन्दोलनमा प्रहरीको बल प्रयोग (दमन), पारदर्शिता र जवाफदेहिता तथा दण्डहीनतालाई आधार बनाएर छानबिन गरेको थियो । आयोगको छानबिन समितिले प्रतिवेदन बुझाए पनि सार्वजनिक भने गरेको छैन।

    आयोगले छानबिन समिति गठनपश्चात् भदौ २३ र २४ को जेनजी आन्दोलनको बेलामा सरकारको नेतृत्व गरिरहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह लगायतसँग बयान लिएको थियो ।

    आयोगका अनुसार २३ भदौको घटनामा दमन र मानवअधिकार हननका विषयमा अनुसन्धान केन्द्रित छ भने २४ भदौको घटनामा जवाफदेहीता र दण्डहीनतालगायतका विषयमा अनुसन्धान केन्द्रित रहेर प्रतिवेदन तयार गरेको छ ।

    आयोगले काठमाडौं र विभिन्न जिल्लामा रहेका आफ्नो संयन्त्रमार्फत अध्ययन गरेको थियो ।

    आयोगले जिल्ला सुरक्षा परिषद् हुँदै २३ र २४ भदौमा फिल्डमा खटिएका सुरक्षाकर्मीसम्मलाई सोधपुछ गरेको थियो । आयोगले नेपाली सेनासँग पनि विवरण माग गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images