काठमाडौं- काठमाडौं जोड्ने छोटो दुरीको कान्तिलोक पथ सडक पहिरोका कारण अवरुद्ध भएको छ ।
शुक्रबार दिउँसो परेको वर्षाका कारण उक्त सडक खण्ड अन्तर्गतको गंगटेमा पहिरो खस्दा सडक आवागमन ठप्प भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ ५ बजेको समयमा मकवानपुर भीमफेदी-८ गंगटेस्थित कान्तिलोक पथ सडक खण्डमा बाटो माथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडकको माथिल्लो भागबाट ढुङ्गा र ग्राभेल सहितको पहिरो खस्दा सडक बन्द भएकाले सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।
हाल उक्त स्थानमा इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटिएको र सडक खुलाउने प्रयास भइरहेको छ ।
उक्त सडक बन्द गरी स्तरोन्नति कार्य भइरहेको छ ।
कान्तिलोक पथ सडक आयोजना मार्फत सो सडक चौडा पार्ने तथा कालोपत्रे गर्ने गरी मकवानपुर तर्फको खण्डमा काम भइरहेको छ ।
पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट ६ किलोमिटर उत्तर तर्फ पर्दछ ।























